१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


विपन्न नागरिक औषधि उपचार कार्यक्रमबाट १७ हजार बढी बिरामीले सेवा लिए


0
Shares

आव २०७३/०७४ मा नयाँ र पुराना गरी १७ हजार २१८ बिरामीले उपचार सेवा प्राप्त गरेका छन् ।

देशभरका विभिन्न ५२ अस्पतालबाट ती बिरामीले रु एक अर्ब ५० करोडको आर्थिक सहयोग लिएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उक्त कार्यक्रमका लागि रु एक अर्ब छुट्ट्याएकाले बाँकी रु ५० करोड अस्पताललाई बुझाउन बाँकी रहेको छ । चालु आवमा कार्यक्रमका लागि रु एक अर्ब १८ करोड विनियोजन गरिएको छ ।

सरकारले विभिन्न आठ प्रकारका रोग मिर्गाैला, मुटु, क्यान्सर, स्पाइनल तथा हेड इन्जुरी, अल्जाइमर्स, पार्किन्सन्स र सिकलसेल एनिमियाका बिरामीलाई यो कार्यक्रममार्फत सहयोग गर्दै आएको छ ।

उपचार सेवा प्राप्त गर्नेमा सबैभन्दा बढी आठ हजार ६४६ क्यान्सरका बिरामी छन् । मुटुका तीन हजार ३४२, सिकलसेल एनिमियाका ५६८, स्पाइनल इन्जुरीका १७६, हेड इन्जुरीका ६७, पार्किन्सन्सका १७ र अल्जाईमरका नौ बिरामी छन् । १३१ जनाले मिर्गौला प्रत्यारोपण गराएका छन् भने मिर्गौला डायलासिस चार हजार १६८ र पेरिटोलियल डायलासिस ८८ जनाले गराएका छन् । यो संख्या नयाँ र पुराना दुवै बिरामीको हो ।

विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत देशभरका ४१ अस्पतालमा मिर्गौला, १० अस्पतालमा क्यान्सर र सिकलसेल एनिमिया, नौ अस्पतालमा मुटु, स्पाइनल इन्जुरी तथा हेड इन्जुरी, पाँच अस्पतालमा अल्जाइमर्स र पार्किन्सन्स रोगको उपचार सेवा सन्चालन गरिएको छ ।

यो कार्यक्रमअन्तर्गत मिर्गाैला रोगीले निःशुल्क डायलासिस सेवा र ट्रान्सप्लान्ट, औषधि गरी अधिकतम रु आठलाख २० हजारसम्म र अन्य रोगका बिरामीले अधिकतम रु एकलाख बराबरको औषधि उपचार पाउँछन् ।

सरकारले कडा रोगका बिरामीको उपचारका लागि उपलब्ध गराउँदै आएको आर्थिक सहयोग थालेसिमियाका बिरामीलाई उपलब्ध गराउने उद्देश्यले निर्देशिका संशोधन गरी कार्यान्वयनमा ल्याउने तयारी गरिसकेको छ ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा कलेजो प्रत्यारोपण, मस्तिष्काघात, अप्लास्टिक एनिमिया र थालेसिमिया रोगलाई पनि उपचार सहायता गर्नेगरी विपन्न नागरिक औषधोपचार कोष निर्देशिका (संशोधित) २०७३ मन्त्रिपरिषद्बाट पारित भएको भएपनि कार्यान्वयनमा भने आइसकेको छैन् ।

साथै, रोगको उपचारमा दिइँदै आएको राहत रकम रु एकलाखलाई बढाएर पनि रु पाँच लाख पुर्‍याइने प्रस्ताव पनि सशोधन मस्यौदामा राखिएको छ ।

हाल उक्त प्रस्ताव अर्थ मन्त्रालयमा विचाराधीन छ । रासस