
दुई साताको अवधिमा बिर्तामोड नगरपालिका–१ र ४ का दुई महिलाको मृत्यु भएको हो । उनीहरूको भारतको नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा उपचारकाक्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बिर्तामोड–४ की अनितादेवी मित्तल र बिर्तामोड–१ की मनीषा अग्रवाल छिन् । उनीहरूको स्वाइन फ्लु रोगको संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । योसँगै झापामा स्वाइन फ्लु रोग फैलने त्रास बढेको छ ।
श्वासप्रश्वासमा सामान्य समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको उनका श्रीमान् राजु मित्तलले बताए ।
सात दिनसम्म अस्पतालमा राखेर उपचार गरेपनि बिरामी झन् सिथिल बन्दै गएपछि थप उपचारका लागि एअर एम्बुलेन्समार्फत् अनितालाई दिल्लीस्थित एपोलो हस्पिटल पुर्याइएको थियो । अस्पताल पुर्याएलगत्तै अनितालाई चिकित्सकले स्वाइन फ्लु भएको आशंका गरेका थिए ।
उक्त अस्पतालका डा. एमएस कनवर तथा डा. अन्सारीसहितको १८ जनाको टोलीले अनिताको उपचार गरेपनि अस्पताल पुर्याएको ७२ घन्टा बित्न नपाउँदै मृत्यु भएको श्रीमान् राजुले बताए ।
अनिताको यही साउन १ गते अस्पतालमा मृत्यु भएको थियो । सोही अस्पतालमा स्वाइन फ्लुका कारण साउन १५ गते राति मनीषाको पनि मृत्यु भएपछि बिर्तामोडमा स्वाइनफ्लु रोगको संक्रमण फैलिएको आशंकाले यहाँका सर्वसाधारण त्रसित बनेका छन् ।
स्वाइन फ्लुका लक्षण रुघाखोकीसँग मिल्दोजुल्दो नै हुन्छ । लगातार नाकबाट पानी बगिरहने हुन्छ । लगातारजसो हाछ्युँ आउँछ । शरीरमा कमजोरी, आलस्यता, औषधि सेवन गरेपनि बिरामीमा खोकी बढ्नु, घाँटी चिलाउनु, दुख्नु, गम्भीर अवस्थामा भने चलिरहेको शरीरको कुनै–कुनै अंगले काम नगर्नु र अन्त्यमा बिरामीको मृत्युसमेत हुनसक्ने मेची अञ्चल अस्पताल भद्रपुरका प्रमुख पिताम्वर ठाकुरले बताए ।
स्वाइन फ्लु रोग सुँगुरबाट मानिसमा सर्ने हुनाले घरपालुवा जनावर र सुँगुरको सम्र्पकमा रहनेमा यो रोगको भाइरस सर्ने सम्भावना बढी हुन्छ । रासस
प्रतिक्रिया दिनुहोस्