
‘साउन ९ गते वालिङ १४ का खुमप्रकाश अर्यालको सिजनल इन्फ्लुएन्जाका कारण मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंबाट आएर हामीले सम्भावित बिरामीको नमुना संकलन गरेका थियौं’–इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भने–‘२० ओटा परीक्षण गरिएकामध्ये पाँचजनामा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान पोजेटिभ) र एकजनामा इन्फ्लुएन्जा ‘बी’ देखिएको छ ।’
‘पोजेटिभ देखिएकामध्ये चारजनाको उपचारपछि निको भइसकेको छ’–जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत यामप्रसाद शर्माले भने–‘अरु दुईजनाको उपचार भइरहेको छ ।’
वालिङ तथा आसपासका क्षेत्रमा सिजनल इन्फ्लुएन्जाका बिरामी अरुपनि हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् भने स्वास्थ्यकर्मीले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
यस रोगबाट बच्न खोक्दा हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोसिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रवीण घिमिरेले बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणकाक्रममा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान पोजेटिभ) देखिएपछि अब यसको रोकथामका लागि फेरि विशेषज्ञको टोली वालिङ आउने बताइएको छ ।
पछिल्लो एक सातामा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा रुघाखोकीका बिरामीको चाप निक्कै बढेको डा. घिमिरेले बताउँछन् ।
स्थानीय त्रसित रहेको अवस्थामा स्वास्थ्यकर्मीले भने विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्