
तीजको पूर्वाभाष भने यससँगै जोडिएर आउने नयाँ नयाँ सांगीतिक भाकाले दिने गरेका छन् । तर पछिल्लो समय तीजका भाकामा शास्त्रीयभन्दा उच्छृंखलाताले लपेटेको देखिन्छ ।
धार्मिक, समाजिक, सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै हिन्दू महिला दिदीबहिनीले हरेक वर्ष तीज पर्व धुमधामका साथ मनाउँछन् ।
विवाह पूर्व होस् वा पश्चात, नारीका विरह भाकालाई संगीतमार्फत् पोख्ने माध्यम हो यो पर्व । कुनै समय थियो साथी संगीमार्फत् गाउने यस्ता भाकाले शहरभन्दा गाउँ पाखालाई संगीतमय बनाउँथ्यो ।
यस्ता गीतमा प्रयोग गरिएका शब्दले विरह र दुःखेसो पोख्ने मात्र हैन, नेपाली समाजको मार्मिक पक्षलाई पनि उजागर गर्दथ्यो ।
तर पछिल्लो समय तीज गीतको नाममा तीब्र व्यावसायिक प्रतिस्पर्धासँगै एकपछि अर्को गर्दै भित्रिएका नयाँ नयाँ भाका र एल्बमले भने संगीतको त्यो उत्कृष्टता र समाजको पाटोलाई उधिन्नेभन्दा छाडापनलाई प्रश्रय दिन थालेको देखिएको छ ।
यतिसम्म कि कतिपय गीत त परिवारमा सँगै बसेर हेर्नसमेत नसक्ने खालका भएपछि प्रसारणमा रोक नै लगाउनु परेको छ ।
तीजको गीतका नाममा जस्ता खालका भिडियोहरु बजारमा ल्याइएका छन्, त्यसले समाजलाई के सन्देश दिन खोजेको हो भन्ने प्रश्न उठेको छ ।
उसो त सबै गीत त्यही स्तरका छैनन् । मुलुकमा देखिएका अराजकता र समाजका विकृती मात्र होइन, चेलीबेटीले भोगिरहेको पीडालाई टपक्क टिपेर गीति भाकामा सिउनेहरु पनि उत्तिकै छन् ।
महादेवलाई पुकार्दै पोइल जान पाम भन्ने गीत गाउँदा बढी आलोचना भएपछि पछिल्ला दिनमा शब्द फेरिए पनि प्रबृत्तिगत आधारमा उस्तै अवस्था रहेको चर्चा पनि यस क्षेत्रमा गर्ने गरिएको छ ।
सासु-बुहारीबीचको घोचपेच, लामो समय घरको कामबाट फुर्सत पाएर माइती पुग्दा भेटिने आफ्ना साथीसंगी र उनीहरुसँग एकसाथ मुक्त आकाशमा खुलेर मनाइने तीज हिजोआज परम्परा धान्ने नाममा भड्किलो मात्र बनेको छैन, यसले परम्परागत शैली विपरित छाडा संस्कृतिलाई पो प्रश्रय दिँदै छ कि ?
प्रतिक्रिया दिनुहोस्