२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


‘स्वाइन फ्लु’का कारण एक, अज्ञात रोगबाट चारजनाको मृत्यु


0
Shares

मृत्यु हुनेमा माथागढी गाउँपालिका–३ का ७४ वर्षीय मानबहादुर चिदी रहेका छन् । चिदीको काठमाडौंको कलंकीस्थित बयोदा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको स्वास्थ्य जाँच केन्द्रीय प्रयोगशाला टेकुमा परीक्षण गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार अस्पतालले चिदीको मृत्यु ‘एच वान एन वान’ भाइरलले भएको जनाएको छ । उनलाई ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएको थियो ।

ज्वरो आउने, घाँटी दुख्ने, सुक्खा खोकी, रुघा, खाना नमिठो हुने र पखाला लाग्ने लक्षण देखिएर लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेका अन्य चारजनाको पनि मृत्यु भएको छ । तर, उनीको मृत्यु यही कारणले भएको भन्ने यकिन हुन सकेको छैन ।

मृत्यु हुनेमा पाल्पा जिल्ला माथागढी गाउँपालिका–३ कसेनीकी २८ वर्षीया चन्द्रा राना, माथागढी गाउँपालिका–४ झडेवाकी ६७ वर्षीया वसन्ती कुँवर, रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरका ६५ वर्षीय मानबहादुर कुमाल र गुल्मी जिल्लाको मदाने–१ की १६ वर्षीया अनिता विष्ट रहेको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ज्ञवालीले बताए ।

रानाको साउन १९ गते कुँवरको साउन २० गते, कुमालको साउन १४ गते, अनिताको साउन ६ गते मृत्यु भएको हो । केन्द्रीय प्रयोगशालाको टोली शनिबार (आज) नै पाल्पा आउने तयारीमा रहेको ज्ञवालीले बताए । रासस