बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, माघ १० । गत असोज ८ गतेदेखि छोटी भन्सारबाट स्तरोन्नति भएको कपिलवस्तुस्थित सुठौली भन्सारले ४ महिना नपुग्दै वार्षिक लक्ष्यभन्दा डेढ गुणा बढी राजश्व असुली गरेको छ ।
सुठौली भन्सार कार्यालयले चालू आर्थिक वर्षको असोजदेखि पुस मसान्तसम्म तोकिएको वार्षिक भन्सार लक्ष्यको करिब १३५ प्रतिशत भन्सार राजश्व असुल गरेको हो ।
स्तरोन्नतिसँगै सुठौली भन्सारलाई १५ करोड भन्सार राजश्व असुलीको लक्ष्य दिइएकोमा हालसम्म २० करोड १८ लाख रुपैयाँ बढी राजश्व असुल गरेको कार्यालयले जनाएको छ ।
भन्सार स्तरोन्नतिअघि सो नाकाबाट दैनिक उपभोग्य सामग्री र कृषि सामग्रीमात्र आयात हुँदै आएको थियो ।
तर, अहिले भने सदरमुकाम तौलिहवा जोडिएको सो नाकाबाट थप सिमेन्टको क्लिंकर, डीओसी, फिड सप्लिमेन्ट, लत्ताकपडा र मेसिनरी सामग्री आयत हुन थालेको छ ।
लक्ष्यमा चार गुणाले वृद्धि गरी ६० करोड पुर्याउने तयारी थालेको कार्यालयका प्रमुख भन्सार अधिकृत तीर्थराज पासवानले जानकारी दिए ।
भन्सार स्तरोन्नतिको निर्णय कार्यान्वयनमा आएसँगै कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधार, सीमा क्षेत्रमा भन्सार स्थापनाका लागि जग्गा प्राप्ती र भारतीय नम्बर प्लेटका सवारी–साधनमा कडाइ सुरु गरेको जनाइएको छ ।
भन्सारको स्तारोन्नतिको निर्णय कार्यान्वयनमा आएपनि हालका पूर्वाधार जीर्ण हुनु, यार्ड नहुँदा सडकमै मालवाहक सवारी पार्किङ गर्नुपर्ने बाध्यता, पर्याप्त सवारी–साधन, खाद्यवस्तु परीक्षणका लागि क्वारेन्टाइन अभावलगायतका समस्या रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्