Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


शव गाडेको २४ घण्टा नबित्दै खनेर गहना चोरी


0
Shares

चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो ।

नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो ।

शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिए ।

‘चिहानमा धेरै गरगहना पुरिएको आशङ्कामा शव खनेको देखियो,’ उनले भने, ‘कानमा लगाएको केही सुन छाडेर चोरले अन्य गहना पनि चोरी गरेर शव पुनः गाडेको भेटियो ।’

चिहान खनेर सुन चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको र यो अत्यन्त घृणित कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ ।

लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि शवसँगै उसले लगाएका गरगहना र प्रयोग गरेका सामग्री चिहानमा पुर्ने प्रचलन छ । (रासस)