Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


डा. केसीको अनशनः गगन थापा र केसीका प्रतिनिधि सिंह के भन्छन् ? (भिडियो)


0
Shares

एक वर्षदेखि व्यवस्थापिका–संसदमा विचाराधीन चिकित्सा शिक्षा ऐनलाई तोडमोड गरेर पास गराउने चलखेल सुरु भएको भन्दै ११औंपटक अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।

डा. गोविन्द केसी अनशन बस्ने, सरकारसँग सम्झौता हुने तर कार्यान्वन नहुने नियति दोहोरिएको दोहोरियै छ । विगतमा डा. केसीसँग सरकारले १० पटकसम्म सम्झौता गरिसकेको छ ।

तर, कमजोर इच्छाशक्तिका कारण सरकारले सम्झौता कार्यान्वयन गर्न चासो दिएको छैन ।

चिकित्सा शिक्षा ऐन पारित नगरिकन जथाभावी विद्यार्थी भर्ना गर्न दिने, अदालतको आदेशलाई अटेर गरी मेडिकल कलेजहरुलाई सम्बन्धन दिने गरिएको भन्दै डा. केसी पुनः अनशनमा बसेका हुन् ।

उनको अनशनलाई सत्तासाझेदार दलकै नेताहरुलेसमेत समर्थन गर्ने गरेका छन् । तर, सरकारले माग पूरा गर्नेतर्फ खासै चासो देखाएको छैन ।

पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा माथेमा आयोगले दिएको सुझावअनुसार ऐन नबनाउने हो भने चिकित्सा क्षेत्रको अवस्था झन् खस्किने बताउँछन् ।

आफू स्वास्थ्य मन्त्री हुँदा डा. केसीका धेरै माग सम्बोधन गरिसकेको भन्दै थापाले प्रमुख राजनीतिक दलका नेताहरुले नै माग सम्बोधन गर्ने प्रतिबद्धता गरिसक्दा पनि पुनः त्यस्तो सुझावलाई तोडमोड गर्न खोज्नु अचम्मको विषय भएको बताए ।

सरकारले डा. केसीको माग सम्बोधन गर्न भन्दै शिक्षासचिवको नेतृत्वमा गठन गरेको वार्ता टोलीले पटक–पटक वार्ता गरिसकेको छ ।

तर, माग सम्बोधनको आश्वासन दिएपनि शिक्षा माफियाहरुको चाहनाअनुसार तोडमोड गरिएको शिक्षा विधेयकलाई संसदमा पेस गर्ने चलखेल सुरु भएको डा. केसीका प्रतिनिधि अभिषेकराज सिंहको भनाइ छ ।

लामो समयदेखि अनशनमा बस्ने डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएको छ । उनमा रोग प्रतिरोधात्मक क्षमतासमेत कमजोर हुँदै गएको उपचारमा संलग्न चिकित्सक डा. दिव्या सिंह शाहले बताइन् ।

भिडियो हेर्नुहोस्