२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


महोत्तरी पशुमा लगाइने औषधि ‘डाइक्लोफेन्याक’ मुक्त


0
Shares

जिल्ला पशुसेवा कार्यालय जलेश्वरमा सोमबार स्थानीय विकास अधिकारी युवराज पौडेलले डाइक्लोफेन्याक नामक पशुमा लगाइने औषधि नेपालमा निषेध भएको झण्डै ११ वर्षपछि मुक्त जिल्ला घोषणा गरेका हुन् ।

नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा डाइक्लोफेन्याक औषधिको कारणले मर्ने गिद्धको प्रतिशत अत्यधिक रहेको पाएपछि २०६३ जेठ २३ गते नेपालमा समेत सो औषधिमाथि प्रतिबन्ध लगाइएको थियो ।

विसं २०४७ अगावै नेपालमा मात्र नौ प्रजातिका पाँच लाखभन्दा बढी गिद्ध रहेकामा सो औषधि लगाइएको जनावर मरेपछि त्यसको सिनो खाँदा मिर्गाैलामा समस्या भई गिद्ध मर्ने संख्या उलेख्य मात्रामा बढेर गिद्धको संख्या ९१ प्रतिशतले घटेको थियो ।

नेपालमा पाइने गिद्धमध्ये ‘डंगर’ एकहजारदेखि दुई हजारको हाराहारीमा तथा सानो खैरो गिद्ध ५० देखि ७५ सम्म छ । नेपालका ५७ जिल्ला यसअघि नै ‘डाइक्लोफेन्याक’ मुक्त गिद्ध संरक्षित जिल्ला घोषणा भइसकेको छ ।

गिद्ध विभिन्न हानिकारक र सडेगलेका सिनोसमेत पचाउन सक्ने पंक्षी हो । ‘डाक्लोफेन्याक’ दुखाइ कम गर्ने औषधि हो । यो मानिस र पशुसमेतका लागि छुट्टाछुट्टै उत्पादन गरिन्छ । औषधि लगाइएको जनावर एकसाताभित्र मर्ने गरेको पाइएको छ । जनावरको सिनो खाने गिद्धको मिर्गाैलामा समस्या उत्पन्न भई दुई–तीन दिनभित्र मर्ने गरेको पशुसेवा कार्यालयका प्रमुख डा.जीवनकुमार सिंहले बताए ।

नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत भूपाल नेपालीले नेपालमै गिद्धको संख्या बढाउन गिद्ध प्रजनन केन्द्रसमेत स्थापना भई गिद्धको संख्या बढाउन सुरु भइसकेको बताउँदै ‘जटायु रेष्टुराँ’को माध्यमले मरेको जनावर संकलन गरी निश्चित क्षेत्रमा राखी गिद्धको आहारको समेत व्यवस्था गरिएको जानकारी दिए ।

हाल औषधि बन्द गराइएपछि पटक–पटक गरिएको अनुगमनमा सो औषधि नभेटिएपछि महोत्तरीलाई गिद्धका लागि संरक्षित जिल्लाका रुपमा घोषणा गरिएको उनले बताए । उनले औषधि ऐन २०३५ बमोजिम पशु उपचारका लागि ‘डाइक्लोफेन्याक’ उत्पादन, प्रयोग, बिक्रीवितरण, आयात, निर्यात र भण्डारण गरेको पाइएमा तीनवर्ष कैद वा रु २५ हजार जरिवाना वा दुवै सजाय हुनसक्ने कानूनी प्रावधान रहेको जानकारी दिए । रासस