ललितपुरमा कठीन मतयाः सम्पन्न « Imagekhabar – Online News Portal of Nepal


ललितपुरमा कठीन मतयाः सम्पन्न


0
Shares

मतको अर्थ दीप र याःको अर्थ यात्रा हो । इखाछेँ क्षेत्रको आयोजनामा नागबहालबाट बुधबार बिहान सवा ४ बजे सुरु भएको मतयाः साँझ सम्पन्न भएको हो ।

दिनभर निरन्तर हिँड्नुपर्ने यो कठीन यात्रामा नगरको चार दिशाको गाःहिति, त्यता, लगनखेल र पुल्चोकमा रहेको थूर (अशोक स्तुप) परिक्रमा गरी पूजा गर्ने गरिन्छ । परिक्रमाकाक्रममा बहाः, बही, विहार, मन्दिर, चीभाः, धर्मधातु पूजा गर्दै यो यात्रा अघि बढेको हो ।

यात्राकाक्रममा २६०० स्थानमा पूजा सामग्री चढाउनुपर्ने स्थानीय दिनेश शाक्य बताउँछन् । नियमानुसार चढाउने पर्ने बोहक पनि विभिन्न व्यक्तिहरुले यात्राको बाटोमा नाङ्लोमा भगवान बुद्धको मूर्ति एवं तस्वीर राखेरसमेत पूजा सामग्री थाप्ने गर्दछन् ।

मतयाःमा चामल, कपूर, चकलेट, बिस्कुट, पैसालगायतका सामग्रीका साथै समवेदना तथा मृतकको निर्वाण कामना गरी नामसंगिती स्त्रोत्र छापिएका पर्चाहरु चढाउने चलन छ ।

गएको २ वर्ष भूकम्पको प्रभावकै कारण यो यात्रा जोखिम रहेको गल्ली तथा चोकमा प्रवेश गरेकोे थिएन भने बुधबार भएको यात्रामा नगरका भित्री गल्ली तथा चोकहरुमा परम्पराअनुसार प्रवेश गरी सहभागी भक्तजनहरुले पूजा सामग्री चढाएका थिए ।

परिवारको सदस्य गुमाएकाले मृतकको स्मरण गर्दै सुखावति भूवनमा वास होस् भन्ने कामनासाथ यो यात्रामा सहभागी हुने गर्दछन् भने धेरै सहभागीहरु यो कठीन धार्मिक यात्राबाट पुन्यलाभ गर्न र अनुभवकै लागि पनि सहभागी हुने गरेको पाइन्छ ।

यो यात्रा अघि बढ्दै गर्दा एक व्यक्ति एक स्थानमा उभिएर हेर्दा घन्टौं भक्तजनहरुको लाम देख्न सकिन्छ । भक्तजनहरुको सुविधाका लागि विभिन्न व्यक्ति तथा संघसस्थाले औषधि, पानी, जुस वितरण गरिरहेको पनि देखिन्छ ।

बालबालिकादेखि वृद्धवृद्धासम्मको सहभागिता रहेको यस यात्रामा विभिन्न बाजागाजासहित परम्परागत भजन गाउँदै–नाच्दै सहभागी हुनेहरुको सामूहिक सहभागिता पनि हुन्छ भने हास्य छर्न ख्यालः समूहहरुको पनि सहभागिता रहने गर्छ ।

यो जात्राको समापन गणेश पूजाबाट हुने गर्दछ । न्यकूजात्राको अर्को आकर्षण नवबाजा पनि हो । जुन बाजा समूहमा धाःखिं, नाय्खिं, मगःखिं, कोंचाछिं, मृदंग, धिमे, तिगली, डबडब, ज्वः नगरा, खन्डली, कासी, व्याहा, ढोलक, धोंधोचा, दहलगायतका बाजाहरु प्रस्तुत् हुने गर्दछ भने न्यकू जात्रामा प्रमुख बाजाकोरुपमा सिङ फुकेर बजाउने गरिन्छ । त्यसैले यस जात्रालाई श्रृङ्गभेरी जात्रा पनि भन्ने गरिएको हो ।

सिङ फुक्ने चलनबारे रहेको कथनअनुसार एक समय शशीपतन नगरमा राजा सिंहकेतुु र रानी सुलक्षणा रहेको उल्लेख छ । रानी सुलक्षणा पतिव्रता रहेकी तर राजा सिंहकेतुको शिकार गर्ने बानी रहेको उल्लेख छ ।

नेपाल सम्वत्अनुसार १०औं महिना गुंलामा दिवंगत सबै प्राणीहरुको निर्वाण कामना गरी न्यकू जात्रा (श्रृङ्गभेरी जात्रा) मनाउने चलन रहेको छ ।

परम्परागत पालोक्रमअनुसार अर्को वर्षको न्यकू जात्रा गाःबहाल बूबहालले आयोजना गर्नेछ ।