काठमाडौं, माघ ८ । मालिका इन्कर्पाेरेटले छाप्न थालेको ‘स्मार्ट लाइसेन्स’ गुणस्तरीय हुन नसकेसँगै यातायात व्यवस्था विभागले आफैं स्मार्ट लाइसेन्स छाप्न सुरु गरेको छ ।
विभागले गत कात्तिक ६ गतेबाट मालिका इन्कर्पाेरेटलाई लाइसेन्स छाप्न दिएको थियो ।
तर, लाइसेन्सको गुणस्तरमा कमी आएको भन्दै विभागले पुस २८ गतेबाट लेजर प्रविधिबाट आफैंले छाप्न सुरु गरेको थियो ।
विभागले आफैंले छाप्न सुरु गरेपनि मागअनुसार छाप्न भने सकेको छैन ।
विभागमा दैनिक १० हजार लाइसेन्सको माग हुने गर्दछ । तर, विभागले दैनिक तीन हजारको संख्यामामात्र लाइसेन्स छाप्ने गरेको छ ।
विभागमा अहिले प्रतिघन्टा ७० ओटा स्मार्ट लाइसेन्स छाप्नसक्ने जम्मा चारओटामात्र प्रिन्टर रहेका छन् ।
तर, विभाग भने दुई महिनासम्ममा लाइसेन्सको लागि पर्खनुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्छ । यद्यपि, विभागले अहिले चार लाख लाइसेन्स छाप्नुपर्नेछ ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय विभागले दुई महिनाभित्रै सबै लाइसेन्स छापिसक्ने दाबी गर्छन् ।
मालिका इन्कर्पाेरेटलाई दुई महिनामा पाँच लाख लाइसेन्स छाप्नका लागि जिम्मेवारी दिइएको थियो । तर, मालिकाले दुई महिनामा साढे तीन लाखमात्र लाइसेन्स छापेको थियो ।
विभागले अहिले आफैंले लेजर प्रविधिबाट लाइसेन्स छापिरहेको छ ।
अबको केही समयभित्रै प्रदेशस्तरबाटसमेत लाइसेन्स छपाइको तयारीसमेत भइरहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।
प्रदेशस्तरबाट लाइसेन्स छपाइका लागि मंसिर २८ गतेबाटै निर्णय भइसकेको पनि विभागले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्