
काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट आत्महत्या भएको देखिएको तर विस्तृत् विवरणका लागि ‘भिसेरा’ रिपोर्ट पर्खनुपर्ने बताए ।
शवको परीक्षणलगत्तै ललितपुरस्थित विधिविज्ञान प्रयोगशाला, खुमलटारमा भिसेरा परीक्षण गर्न लागिएको र अबको केही दिनमै त्यसको प्रतिवेदन आउने प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
उनकाअनुसार भिसेरा परीक्षणबाट सेल्फस नामक विषादी हो वा होइन ? कुन समयमा खाएका हुन् ? हरेकले कुन समयमा खाए ? एकैपटक खाएको हो वा हैन ? भन्ने विस्तृत् विवरण प्राप्त हुनेछ ।
‘अहिलेसम्मको प्रहरी अनुसन्धानले हत्या भएको देखिँदैन’–उनले भने ।
बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल साउन ६ गते मृत अवस्थामा फेलापरेका थिए ।
तर, स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सम्पत्ति र घरायसी विवादका कारण उनीहरुले सामूहिक आत्महत्या गरेको आशंका गरिएको छ ।
मृत फेलापरेका बुबाआमा, छोरा र छोरी हुन् । शव रहेको कोठाको भित्रबाट ताल्चा लगाइएको र सेल्फस नामक विषादीको सिसी प्रहरीले घटनास्थलबाट फेलापारेको थियो ।
घटनाको थप अनुसन्धान अपराध अनुसन्धान ब्युरोले गर्दैछ । रासस
प्रतिक्रिया दिनुहोस्