७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न दक्षिणको जोड


0
Shares

सोमबार (आज) कोरियाली उच्च अधिकारीहरुसँगको सामूहिक भेटका अवसरमा उनले सो धारणा राखेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा हालै सोलमा आयोजित पत्रकार सम्मेलनमा पनि दक्षिण कोरियाली सैन्य प्रमुखले उत्तर कोरियाको हाल जारी आणविक परीक्षण विश्वकै लागि खतरा हुनसक्ने भन्दै त्यसतर्फ सोच्न आग्रह गरेका थिए ।

उत्तर कोरियाले गएको जुलाई ४ मा गरेको पछिल्लो परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरूले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्नसक्ने खालको रहेको समेत बताएका छन् ।

राष्ट्रपति इनले उत्तर कोरियाका तर्फबाट जारी राखिएको यस प्रकारको परीक्षणबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्य छायाँमा परेको भन्दै यसका कारण उत्पन्न हुनसक्ने खतरालाई सामना गर्दै उक्त क्षेत्रमा शान्ति स्थापनामा जोड दिएका हुन् ।

उत्तरको पछिल्लो परीक्षणपछि संसारमा शान्ति सुरक्षाको विषयलाई लिएर थप चर्चामा ल्याइदिएको छ । यसले गर्दा अमेरिकामात्र नभएर दक्षिण कोरिया र जापानका लागि पनि तनाव उत्पन्न गरेको जनाइएको छ ।

उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ । क्षेप्यास्त्र परीक्षणको विरोधमा अमेरिका, संयुक्त राष्ट्रसंघलगायतले गरेको आग्रहको पनि उसले बेवास्ता गर्ने गरेको छ ।

साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकामाथि प्रत्यक्षरुपमा मार हान्ने गरी आफूले यस्ता क्षेप्यास्त्र निर्माण गरिरहेको धम्की पनि दिने गरेको छ ।

राष्ट्रपति इनले सोलमा आयोजना गरिएको नियमित बैठकका क्रममा उत्तर कोरियाको पछिल्लो परीक्षणपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त रुपमा शान्ति स्थापनाको काममा लाग्ने प्रतिबद्धताका साथ काम गरिरहेको जानकारी पनि दिएका थिए ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको क्षेप्यास्त्र परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानूनको उल्लंघन गरेको प्रतिक्रिया विश्व जगतले दिएको भएपनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन ।

यसै विषयलाई लिएर केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच पनि फोनवार्ता भएको ह्वाइट हाउसले जनाएको थियो ।

त्यस वार्तामा राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री आबेबीच उत्तर कोरियालाई थप आर्थिक नाकाबन्दी लाउने र कूटनीतिक दबाब दिनेमा सहमत भएका थिए । सोहीबमोजिम नै पछिल्लो समयमा उत्तर कोरियाका विरुद्धमा कडा खालको नाकाबन्दी लगाइएको छ । रासस/एएफपी