तोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध • Image Khabar Image Khabar


तोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध


Imagekhabar
१८ असार २०७५, सोमबार ०३:१३

तोपेखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, असार १८ । अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखन्ड अवरुद्ध भएको छ ।

बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित भएको उक्त सडकखन्डअन्तर्गत्को तोपेखोलामा सोमबार ११ः५० बजेको समयमा ठूलो पहिरो खसेर पुनः सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पानी परिरहेको र पहिरो खस्नेक्रमसमेत नरोकिएकाले अहिले पहिरो पन्छाउने काम सुरु गर्न नसकिएको प्रहरीले जनाएको छ ।

यसअघि, सोमबार बिहान तोपेखोला, जलविरे र मुग्लिनडाँडामा पहिरो खस्दा अवरुद्ध भएको यातायात बिहान ९ः१० बजे खुलेको थियो ।

अहिले तोपेखोलामा खसेको पहिरो भने निकै ठूलो रहेको प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले बताए ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख बेदप्रसाद गौतमकाअनुसार चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलानजिक पनि पहिरो गएर यातायातको आवागमन रोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्