Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


अरुण तेस्रो जलविद्युत् आयोजनाको काममा सन्तोषजनक प्रगति


0
Shares

-ध्रुव भट्टराई/ईमेज

विराटनगर । राष्ट्रिय गौरबको बहुचर्चित परियोजना ‘अरुण तेस्रो जलविद्युत् आयोजना’को कामले तीव्र गति लिएको छ ।

सन् २०२२ सम्म ९ सय मेगावाट जलविद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको आयोजनाको काम हेर्दा केही सकारात्मक संकेत देखिएको छ ।

२०४२ सालदेखि चर्चामा रहेको निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको काम राजनीतिक विवादका कारण पटकपटक अवरुद्ध हुँदै आएको थियो ।

गत बैशाख २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेदेखि काम सन्तोषजनक रुपमा अघि बढिरहेको छ ।

संखुवासभाको मकालु र चिचिला गाउँपालिकास्थित आयोजना निर्माणको जिम्मा भारतीय सरकारी आयोजना सतलज हाइड्रोले लिएको छ । आयोजनाको कूल लागत १ खर्ब ४ अर्ब रूपैयाँ रहेको छ ।

सन् २०२२ सम्म निर्माण सम्पन्न गर्नुपर्ने प्रावधान रहेको आयोजनाको  सतलजले  निर्माण शुरु गरेकोे ९ महिनाको अवधिमा १५ प्रतिशत काम पुरा भएको जनाएको छ । सतलज हाइड्रोका कार्यकारी निर्देशक सतिशकुमार शर्माले धेरै काम सँगसँगै थालिएकोे जानकारी दिए ।

भारत सरकारले बजेटमार्फत् अरुण तेस्रो आयोजनामा लगानी गर्ने गरी ५७ अर्ब २३ करोड भारु छुटयाएको छ । सम्झौता अनुसार उत्पादित बिजुलीको २१ दशमलव ९ प्रतिशत बिद्युत नेपालले निस्शुल्क पाउनेछ ।

बाँकी बिजुली भारत निर्यात हुनेछ । मकालु् गाँउपालिका वडा नं ५ का वडाध्यक्ष जापाना गुरुङले राष्ट्रिय आयोजनाको यो जलविद्युत उत्पादन हुने भएपछि संखुवासभाबासीलाई मात्र लाभ नभई मुलुकले नै लाभ लिन सक्ने धारणा राखे ।

मुख्य सुरुङसम्म पुग्नका लागि दोभानमा निर्माण भइरहेको प्रवेश सुरुङ मार्गको ५ सय ९ मिटर लम्बाइमध्ये ३ सय ४७ मिटरको काम सकिएको छ ।

४ वटा प्रवेश सुरुङको काम सकिएसँगै एकैपटक आठ स्थानबाट मुख्य सुरुङ मार्गको काम अघि बढाइने तयारी कम्पनीको छ ।

ड्याम निर्मास्थलमा रहेको बस्ति सरकारले मुआव्जा दिएर खाली गराएको छ । राष्ट्रिय परियोजना भएकाले आफुहरुले त्याग गरेको स्थानीय पुष्पवहादुर पराजुलीको भनाइ छ ।