Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान


0
Shares

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बिदाइ गरे ।

चिनियाँ अतिथिको बिदाइका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्रनारायण देव, चीनका लागि नेपालका राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी, नेपालका लागि चीनका राजदूत यु होङ, उक्त मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका वरिष्ठ अधिकारी उनको बिदाइका लागि विमानस्थलमा उपस्थित थिए ।

नेपाल सरकारको मैत्रीपूर्ण निमन्त्रणामा एक उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत सोमबार उनी यहाँको भ्रमणमा आएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग उनले बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

चिनियाँ उपप्रधानमन्त्री वाङले उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुका साथै चीन सरकारको सहयोगमा हुने हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ पनि गरेका थिए । रासस