
छोरी गीता ढकालको घरमा बस्ने रसुवाको उत्तरगया गाउँपालिका–५ की ५५ वर्षीया पार्वती ढकालको हत्यामा संलग्न अभियुक्त काठमाडौं, तारकेश्वर बस्ने नुवाकोटको ककनी गाउँपालिका–२ का ३० वर्षीय सुदामा लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।
लामिछानेलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले कपिलवस्तुबाट गत साउन ३२ गते पक्राउ गरी शुक्रबार महाशाखामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
अभियुक्त लामिछानेले लुटेको गहना वनस्थली नर्सरीचोकस्थित दीपज्योती सुनचाँदी पसलमा रु एक लाख १५ हजारमा बिक्री गरी कपिलवस्तुमा गइ लुकीछिपी बस्दै भारततर्फ जानका लागि भारतीय रुपैयाँसमेत सटही गरी बसेका अवस्थामा पक्राउ गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए ।
उक्त घटनाको अनुसन्धानकाक्रममा गीताको घरमा करिब एक हप्ता काम गरी रु एक हजार लिएर काम छोडी हिँडेका लामिछानेले दुई हप्तापछि विदेश जान लागेको भन्दै मृतक पार्वतीसँग पैसा मागेको तर पैसा नभएको भनेपछि फर्किएर गएको खुलेको छ ।
त्यसको केही दिनपछि बालाजुस्थित होटलमा साथीसँगै बसेर गीताको घरमा लुटपाट गर्ने योजना बनाइ उक्त दिन घरमा पुगेर मृतक पार्वतीलाई ह्याम्मर प्रहार गरी दराजमा रहेको सुनको चुरा दुईथान, बाला दुईथान, औंठी दुईथान, लकेटसहितको सिक्री एकथान, झुम्का एकजोर गरी करिब २७ तोला सुन, आइप्याड एकथान र घडी एक थानसमेत लुटी फरार भएका थिए ।
हत्याकाक्रममा लामिछानेसँग साथमा रहेका नाम र वतन नखुलेका ‘भरौटे’ भन्ने व्यक्तिलाई अझै पक्राउ गर्न नसकिएको र उनको खोजी जारी रहेको वरिष्ठ उपरीक्षक अमात्यले जानकारी दिए ।
गीता ढकालको ट्याब, गहना पगालेको सुन २३.४३ ग्राम र भारत जानका लागि साटेको भारतीय रुपैयाँ २९ हजारसमेत बरामद गरी पक्राउ परेका लामिछानेलाई आवश्यक कानुनी कारबाहीका लागि महाशाखाले महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाएको छ ।
साथै, अभियुक्त लामिछानेले ल्याएका बिल नभएका सुनका गरगहना बिक्री वितरणमा संलग्न अन्य दुईजना र खरिद गर्ने सुन पसलेसमेतका तीनजनालाईसमेत प्रहरीले पक्राउ गरेको छ ।
उक्त सुनका गरगहना दीपज्योति सुनचाँदी पसलका सन्चालकले पगालीसकेका अवस्थामा बरामद भएको छ ।
निज लामिछाने वि.सं. २०६३ असोजमा जबर्जस्ती करणी (अप्राकृतिक मैथुन) मुद्दामा पक्राउ परी ८ वर्ष जेल सजायसमेत भुक्तान गरी वि.सं. २०७१ मा छुटेकोसमेत महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्