१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पुर्‍याउने गिरोहका सदस्य दिल्लीमा पक्राउ


0
Shares

काठमाडौं, माघ ७ । नेपाली महिलालाई अवैध रुपमा खाडी मुलुक पुर्‍याउने गिरोहका एक सदस्यलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालकै लोप्साङ लामा छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्ली प्रहरीले मानव तस्कर गिरोह पक्राउ गर्नका लागि स्पेशल टिम परिचालन गरेको थियो । लामो समयदेखि फरार रहँदै आएका लामालाई सो टिमले पिछा गरेपछि उनी यमुना नदीमा हाम फालेर भाग्न खोजेका थिए । तर दिल्ली प्रहरीकै एक सदस्य मनोज त्यागीले यमुना नदीमै हाम फालेर उनलाई पक्राउ गरेको जनाइएको छ ।

२५ जुलाई २०१८ मा दिल्ली महिला आयोग प्रमुख स्वाती मालीवालको अगुवाईमा दिल्लीको वसन्त बिहारमा छापा मारेर १६ नेपाली महिलालाई उद्धार गरेको थियो । गत वर्ष अगस्टमा समेत दिल्लीका विभिन्न स्थानमा छापा मारेर ३९ नेपाली महिलालाई उद्धार गरिएको थियो । खाडी मुलुक पठाउन एउटा कोठामा राखिएका उनीहरुलाई उद्धार गरेलगत्तै लामा फरार रहँदै आएको दिल्ली प्रहरीको भनाइ छ ।

प्रहरीले लामाको बारे सूचना दिनेलाई एक लाख रुपैयाँ पुरस्कारको घोषणा समेत गरेको थियो । दिल्ली प्रहरीका अनुसार विभिन्न प्रलोभन देखाएर नेपालबाट सोझा महिलालाई खाडी मुलुक पठाउने र प्रतिव्यक्ति ५० हजार रुपैयाँको औसतमा रकम असुल्दै आएका थिए ।

लामाले हालसम्म दुई दर्जनभन्दा बढी नेपाली महिलालाई खाडी मुलुक पठाइसकेको बताइएको छ । पक्राउ परेका लामाको ठेगाना भने खुलाइएको छैन । (एजेन्सी)