Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


स्वीट्जरल्यान्डको डाभोस बैठकले नेपाललाई के फाइदा ?


0
Shares

-हिमाल पौडेल/ईमेज

काठमाडौं । नेपालले पहिलो पटक कार्यकारी प्रमुखको तहबाट विश्व आर्थिक मञ्चको बैठकमा सहभागिता जनाउने भएको छ ।

विश्वका आर्थिक शक्तिहरुको समेत सहभागिता रहने वैठकमा भाग लिन २० सदस्यीय प्रतिनिधिमण्डको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली हिजो स्वीट्जरल्यान्डतर्फ प्रस्थान गरिसकेका छन् ।

विश्व आर्थिक मञ्च सार्वजनिक तथा निजी साझेदारीका लागि एक स्वतन्त्र तथा तटस्थ अन्तर्राष्ट्रिय संगठनको रुपमा परिचित छ । मञ्चको उद्देश्य नै विश्वको आर्थिक अवस्थामा सुधार ल्याउनु हो ।

यसले कुनै पनि राजनीतिक, व्यावसायिक तथा व्यक्तिगत चासोलाई प्रवद्र्घन गर्दैन । यो खुला र समावेशी हुनाका साथै पारदर्शितामा विश्वास राख्ने संगठनको रुपमा स्थापित छ । यसले प्रत्येक वर्षको जनवरी महिनामा स्विटजरल्याण्डको हिमाली शहर डाभोसमा वार्षिक बैठक गर्दै आईरहेको छ । 

सन् १९७१ मा प्राध्यापक कालोस स्केचवाभले यूरोपियन म्यानेजमेन्ट फोरमको रुपमा यसको स्थापना गरेका थिए । यसको वार्षिक बैठकमा सन् १९७४ देखि मात्रै राजनीतिक नेतृत्वले सहभागिता जनाएका हुन् ।

सन् १९८७ देखि यो विश्व आर्थिक मञ्चको नामबाट परिचित रहदै आएपनि सन् २०१५ देखिमात्रै यसले अन्तर्राष्ट्रिय संगठनको रुपमा औपचारिक मान्यता पाएको हो ।   

मञ्चको बैठकमा जर्मन चान्सलर एन्जेला मर्केल, जापानी प्रधानमन्त्री शिन्जो आबे, स्विस राष्ट्रपति उएली माउरर, ब्राजिलका राष्ट्रपति जाइर बोल्सारो, चीनका उपराष्ट्रपति वाङ छिसान लगायतले भाग लिने जनाइएको छ ।

यसअघि राजदूत वा कर्मचारीतहबाट नेपालको प्रतिनिधित्व रहदै आएपनि पहिलो पटक प्रधानमन्त्रीस्तरमा नेपालले सहभागिता जनाउन लागेको हो ।

डाभोस बैठकमा विश्वका करिब सय देशबाट राष्ट्राध्यक्ष, सरकार प्रमुख एवं प्रतिनिधि सहभागी हुने छन् भने विश्वका एक हजार बढी प्रतिष्ठित कम्पनीका प्रमुखहरुले पनि भाग लिने जनाइएको छ ।

डाभोस फोरम आर्थिक मामिलामा मन्थन गर्ने महत्वपूर्ण संस्था भएकाले हाम्रो विकासको अनुभव र आकांक्षाबारे विश्व समुदायलाई कार्यकारी प्रमुखकै तहबाट जानकारी दिन मञ्च उपयुक्त हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओलीले पनि यो बैठक महत्वपूर्ण रहेको भन्दै नेपालले पाएको सफलताले नेपालप्रति विश्वको चासो बढेको बताएका छन् ।

आगामी मार्चमा हुन लागेको लगानी सम्मेलनलाई सार्थक बनाउन एवं वैदेशिक लगानी, प्रविधी र ज्ञान एवं सीप आकर्षित गर्न डाभोस फोरम सहयोगी बन्ने विश्वास सरकारको रहेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईको छ ।

प्रधानमन्त्री ओलीले बैठकको दुई वटा सत्रलाई सम्बोधन गर्ने कार्यतालिका छ ।

बैठकको क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्वसहित व्यापारिक नेतृत्वलाई पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।