बाढी प्रभावित जिल्लामा बिरामीको संख्या बढ्न थाल्यो « Imagekhabar – Online News Portal of Nepal


बाढी प्रभावित जिल्लामा बिरामीको संख्या बढ्न थाल्यो


0
Shares

जिल्लाको रातो, जंघा, मरहा, अंकुशी, विग्ही, भब्सीलगायतका नदीमा आएको बाढीले प्रभावित भएका गाउँ बस्तीमा अहिले बाढीपछि बिरामीको संख्या अत्यधिक वृद्धि भएको स्थानीयवासीले बताएका छन् ।

बाढीबाट प्रभावित जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका, मटिहानी, गौशाला, सम्सी, रामगोपालपुर, भंगहा, लोहारपट्टी, बलवा, धमौरा, धीरापुर, मनरा, एकडारा, सोनमा, सोनौललगायतका स्थानमा अहिले बिरामीको संख्या ह्वात्तै बढेको छ ।

ती स्थानमा खानेपानीको मुहान बाढीले बगाएको, ह्याण्ड पाइप, कुवा, इनार र नदीमा बाढीको पानी पसेर सबै पानी दूषित भइसकेको अवस्थामा तीनै मुहानका पानी खान बाध्य छन् । चारैतिर बाढीले डुबान गरेको अवस्थामा दिसापिसाब व्यवस्थापन गर्न नसक्दा बाढी प्रभावितको गाउँ बस्तीमा विभिन्न रोगको संक्रमण देखिएको तथा बिरामीको संख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

बाढीको पानी कम भएसँगै बाढी प्रभावित गाउँ बस्तीमा झाडापखाला, डाइरिया, ज्वरो, टाइफाइड, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय, महोत्तरीका प्रमुख डा.नागेन्द्र यादवले प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटिएको बताए । उनका अनुसार बाढी प्रभावित गाउँ बस्तीमा निरन्तर घुम्ती टोलीले उपचार तथा औषधि वितरणलगायतका काम तीव्रगतिमा भैरहेको छ ।

तर, अझैपनि जिल्लाका ग्रामीण भेगमा स्वास्थ्यकर्मी तथा औषधि पुग्न नसकेको र कतिपय ठाउँमा बिरामीले उपचार र औषधि नपाएको पीडितले गुनासो गरेका छन् ।

अहिले बाढीबाट प्रभावित बिरामीले जिल्ला अस्पताल र जिल्लाका सबै स्वास्थ्य, उपस्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र खचाखच भरिएका छन् । रासस