
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव एकैदिन गर्ने गरी सरकारले आगामी मंसिर १० गतेको मिति घोषणा हो ।
मिति घोषणा गरेपनि सरकारले अझैसम्म पनि निर्वाचनका लागि आवश्यक कानुनचाहिँ दिन सकेको छैन ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी कानुन भदौ ५ भित्र दिइसक्न यसअघि नै सरकारसँग माग गरेको थियो । तर, अझै निर्वाचन कानुन तयार भइसकेका छैनन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसम्बन्धी दुवै विधेयक संसदमा विचाराधीन छन् ।
त्यस्तै, आयोगले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन भदौ १५ भित्र प्राप्त भइसक्नुपर्ने माग गरेको छ ।
आयोगले छोटो समयावधिमा दुई तहको चुनाव गर्न प्राविधिक र व्यवस्थापकीय समस्या पर्ने जनाएको छ ।
मिति घोषणा गर्नुलाई सकारात्मक भन्दै आयोगले आवश्यक कानुन र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिन ढिलाइ भएकोप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
आयोगले मतपत्र छपाइ र ढुवानीलगायत काममा समय लाग्ने भन्दै मंसिर ४ मा ३१ ओटा उच्च पहाडी तथा हिमाली जिल्ला र बाँकी जिल्लामा २१ गते चुनाव गर्न सुझाएको थियो ।
तर, प्रमुख दलहरुबीच भएको समझदारीअनुसार सरकारले एकै चरणमा निर्वाचन गर्नेगरी मिति घोषणा गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्राकृतिक, व्यवस्थापकीय र प्राविधिक कठिनाइले पर्नसक्ने समस्यालाई मध्यनजर गरी मितिको विकल्पमा पनि तयार रहनुपर्ने बताए ।
निर्वाचनको घोषणा भएसँगै अब मतदाता नामावली संकलन, अद्यावधिक, नामसारीलगायतका कामहरु पनि बन्द भएका छन् ।
संविधानअनुसार माघ ७ भित्र स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव सक्नुपर्ने बाध्यता छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्