
यही भदौ १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘ए मेरो हजुर २’ को प्रचार–प्रसारमा यतिबेला चलचित्र युनिट व्यस्त छ ।
प्रचार–प्रसारकै सिलसिलामा चलचित्र युनिट चितवन आइपुगेको छ । नारायणगढमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक झरना थापाले चलचित्र उत्कृष्ट बनेको भन्दै चलचित्र हेरिदन आग्रह गरिन् ।
उनले नाम हेर्दा चलचित्र ‘सिक्वेल’जस्तै लागेपनि कथावस्तु भने फरक रहेको प्रस्ट पारिन् ।
उनले भनिन्–‘ए मेरो हजुरको केही पाटो चलचित्रमा सम्झन सक्नुहुन्छ । तर, सिक्वेल होइन । दर्शकले मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु ।’
उनले नायिका र निर्देशककोरुपमा काम गर्दा धेरै फरक रहेको सुनाइन् ।
चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले यो चलचित्रबाट आफूले धेरै अपेक्षा गरेको बताउँदै चलचित्र निकै उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् ।
उनले यो चलचित्र नेपालकै राम्रो ‘लोकेसन’मा छायाँकन गरिएकाले दर्शकले नयाँ स्वाद पाउने ठोकुवा गरिन् ।
चलचित्र रिलिजअघि नै चर्चा कमाएका नायक सलिनमान बानियाँले यो चलचित्रबाट दर्शकले रोमान्स, लभ, स्याड सबै भेराइटी पाउने दाबी गरे ।
उनले आफ्नो पहिलो चलचित्र भएकाले आफूले गरेको मिहिनेत दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरे ।
चलचित्रका अर्का नायक सलोन बस्नेतले नेपालीलाई मनपर्ने पारिवारिक कथामा यो चलचित्र निर्माण भएको बताए ।
नायक सलोनले दर्शकले आफूलाई यो चलचित्रमा कमेडी भूमिकामा देख्नसक्ने बताए ।
चलचित्रका निर्माता सुनीलकुमार थापाले यो चलचित्र आफूले धेरै नै जोखिम मोलेर निर्माण गरेको भन्दै अहिलेसम्म पाइरहेको प्रतिक्रियाले उत्साहित रहेको बताए ।
चार वर्षपछि आफू चलचित्र निर्माणमा फर्किएको भन्दै निर्माता थापाले दर्शकलाई रुच्ने खालको चलचित्र ‘ए मेरो हजुर २’ बनेको जिकिर गरे ।
सुनीलकुमार थापाले नै निर्माण गरेको यसअघिको चलचित्र ‘ए मेरो हजुर’मा निर्देशक झरना थापा नायिकाको भूमिकामा थिइन् भने स्व. श्रीकृष्ण श्रेष्ठ नायककारुपमा थिए ।
सो चलचित्रलाई चितवनकै निर्देशक स्व. शिव रेग्मीले निर्देशन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्