१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


कैलालीमा ‘ग्याङ फाइट’, खुकुरी प्रहारबाट एकजनाको मृत्यु, तीन घाइते


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, माघ ५ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–२, अत्तरियामा खुकुरी प्रहारबाट शनिबार एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् ।

खुकुरी प्रहारबाट गोदावरी नगरपालिका–१ का अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भट्टको उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीमा ल्याउनेक्रममा मृत्यु भएको उनले बताए । भट्टको शव सोही अस्पतालमा रहेको छ ।

एसपी तिमिल्सिनाकाअनुसार घाइते हुनेहरुमा गोदावरी नगरपालिका–१ का सविन कट्टेल, गणेश राई र राजेश नेपाली रहेका छन् ।

घाइते कट्टेलको सेती अञ्चल अस्पताल तथा राई र नेपालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गोदावरी नगरपालिका वडा–१ र वडा–२ का युवाबीच विवाद उत्पन्न भएपछि महोत्सवको गेटनजिकै झडप भएको थियो ।

खुकुरी प्रहरी गर्ने व्यक्तिको पहिचान हुन नसकेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।