भाद्र कृष्ण पञ्चमीदेखी आरम्भ हुने गौरा पर्वको पहिलो दिन महिला हरुले घर–घरमा तामाका भाडामा विरुडा (पञ्चअन्न) भिजाएर पर्वको थालनी गरेका छन् ।
सुदुरपश्चिमको प्रमुख चाड गौरा पर्व शनिवारदेखि विधिवत रुपमा सुरु भएको छ । भाद्र पञ्चमीका दिन महिलाहरुले व्रत वसी गहु, केराऊ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा पञ्चअन्नलाई धोएर भिजाउने गर्दछन ।
यिनै पांचअन्नको मिश्रणलाई विरुडा भन्ने गरिन्छ भने यस दिनलाई विरुडा पञ्चमीका नामले चिन्ने गरिन्छ ।
सप्तमीका दिन गौरा देवीलाई नजिकैका मठमन्दिरमा भित्र्याएर पुजा अर्चना गरी विवाहित महिलाहरुले दुव धागो चढाउने गर्दछन भने अठवाली अर्थात गौराअष्टमीका दिन निराहार व्रत वसेर गौरापर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पुजा अर्चना गर्दछन ।
गौरा पर्वको प्रमुख आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ ।
त्यतिमात्रै नभएर सामाजिक कुरीति, विकृति–विसंगती विरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाहरुले यस अवसरमा आ–आफ्ना सुख-दुःख देउडाका माध्यमवाट व्यक्त गर्दछन ।
गौरा विसर्जन नगरिएसम्म गोरा घर, विभिन्न चौतारा तथा सार्वजनिक स्थलहरुमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलवद्ध भई स्थानीय लोक भाकामा देउडा, चैतली, धुमरी, ढुस्कोलगायतका भाकामा देउडा खेल खेलेर मनोरञ्जन गर्ने गर्दछन ।
गौरा पर्वमा देउडा गीतका माध्यमवाट एक अर्कालाई दुख सुख बाड्नुका साथै सामाजिक सदभाव कायम गर्ने गरिन्छ ।
गौरापर्वमा काम विशेषले घर वाहिर गएकाहरुपनि घर फर्कने गर्दछन । हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन निराहार वर्त वसेको आधारमा गौरा पर्व मनाउने धार्मिक मान्यता रहंदै आएको छ ।
अनुकुल तिथि हेरी विसर्जन गरिने गौरा पर्वले समाजमा धार्मिक आस्था, आपसी सद्भाव वढाउन मद्धत पु¥याउने मात्र नभई यस पर्वमा व्रत वसि पुजा–अर्चना गर्नाले शुख शान्ती प्राप्त हुने, ईष्टकुल देवता प्रशन्न हुने जनविश्वास रही आएको छ ।
गौरा पर्व भाद्र पञ्चमीका दिन सुरु हुने भएपनि समापन भने फरक–फरक दिन गर्ने गरिन्छ ।
दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरलगायतका सुदुरपश्चिमका जिल्लामा आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुरुप फरक–फरक दिन पारेर गौरा वर्प मनाईने र समापन गर्नै गरिन्छ ।
सुदुरपश्चिमको मौलिक धार्मिक संस्कृतिलाई समेट्ने गरी मनाईने गौरा पर्व सुदुरपश्चिम संगै भारतको कुमाउ गढ्वालमा समेत मनाउने गरिन्छ ।
गौरा पर्वमा खेलिने देउडा प्रति पछिल्लो समय सवै समुदायको आर्कषण वढ्दै गएको पाईन्छ त्यसैले पनि मोलिक धार्मिक संंस्कृतीको जगेर्ना गर्न यस्ता खाले परम्परागत पर्वहरुलाई नयां पुस्तामा हस्तान्तरण गर्नु जरुरी छ ।










प्रतिक्रिया दिनुहोस्