Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


कँडेलको ‘धृतराष्ट्र’लाई मदन पुरस्कार र वात्सायनलाई जगदम्बा–श्री


0
Shares

गुठीको आइतबार बसेको साधारणसभा बैठकले वि.सं. २०७३ मा प्रकाशित पुस्तकमध्ये घनश्याम कँडेलले अनुष्टुप् छन्दमा लेखेको पद्यकाव्य ‘धृतराष्ट्र’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सदस्यसचिव दीपक अर्यालले राससलाई जानकारी दिए ।

यसैगरी, बैठकले समसामयिक विषय र विसंगतिलाई कार्टुनमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै निरन्तर नेपाली भाषाको सेवा गरेबापत दुर्गा बराल (वात्सायन)लाई २०७३ सालको जगदम्बा–श्री पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।

वि.सं. २०७३ मा प्रकाशित भइ गुठीलाई प्राप्त ११५ पुस्तकमध्ये ‘गुहा, गुहालेख, गुहाचित्र एवम् अन्य सम्पदा’, ‘छाउघर’, ‘तपन’, ‘दोहाको सीधा उडान’, ‘धृतराष्ट्र’, ‘प्रतिनायक’, ‘म स्त्री अर्थात् आइमाई’, ‘शुक्रराज शास्त्रीको चस्मा’ र ‘सगरमाथाको गहिराइ’लाई उत्कृष्ट ९ पुस्तककारुपमा छनोट गरिएको थियो’–अर्यालले भने ।

पुरस्कार आश्विन शुक्ल द्वितीया अर्थात् घटस्थापनाको भोलिपल्ट प्रदान गरिनेछ ।

वि.सं. २०१२ मा जगदम्बा राणाले मदन पुरस्कारको स्थापना गरेका थिए । वि.सं. २०१३ मा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा’ र विज्ञान विधामा डा. बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ पुस्तकलाई प्रदान गरिएको थियो ।

वि.सं. २०४५ मा जगदम्बाको निधन भएपछि उनको सम्झनामा पनि जगदम्बा–श्री पुरस्कार स्थापना गरिएको हो । दुवै पुरस्कारको राशि रु दुईदुई लाख रहेको छ । रासस

Skip This