९ जेष्ठ २०८२, शुक्रबार | Sat May 24 2025


‘चीन र भारत दोक्लामबाट सेना हटाउन तयार’


0
Shares

केही महिनायता दुई देशबीच दोक्लामका विषयमा चलिरहेको विवाद समाधान गर्न दुबै देशका अधिकारीहरु सहमत भएका जनाइएको छ ।

कूटनीतिकस्तरमा भइरहेको प्रयासस्वरुप महत्वपूर्ण सहमति बनेको दाबी भारतीय अधिकारीहरुले गरेका छन् ।

भारतीय विदेश मन्त्रालयकाअनुसार दुबै देश दोक्लामबाट सेना हटाउन तयार भएका हुन् ।

दोक्लामका विषयमा भारत र चीनले हालैका दिनमा कूटनीतिकस्तरमा एकापसको चिन्ता र हितकाबारेमा छलफल गरेको र यसै आधारमा दोक्लाम विवाद कम गर्न सेना हटाउने फैसला लिएको विदेश मन्त्रालयले विज्ञप्ति निकाली जनाएको छ ।

सीमा विवादकै कारण केही महिनायता भारत र चीनबीच तनावपूर्ण अवस्था बनेको थियो ।

सन् १९६२ मा युद्ध मैदानमा आमने–सामने भइसकेका यी दुई मुलुकमा फेरि युद्ध भड्किने आशंका बढेकाबेला शान्तिपूर्ण समाधान खोजिएको जनाइएको छ ।

दोक्लाम विवाद बढेपछि दुबै देशले सीमामा सुरक्षा फौजको तैनाथी बढाएका थिए । दोक्लाममा चीनले सडक बनाउन लागेकोमा भारतले विरोध गरेपछि विवाद बढेको थियो ।

दोक्लाम भारतको सिक्किम, भुटान र चीनको साझा सीमा क्षेत्र रहेको दाबी भरतले गर्दै आएको छ भने चीन दोक्लाम भुटानसँगको सीमा क्षेत्रमात्र भएको जिकिर गर्दछ ।

चीनले दोक्लामसम्म सडक ल्याएमा भारतको उत्तरपूर्वी राज्यमा चीनको सीधा पहुँच हुने डरमा भारत रहेको छ । (एजेन्सी)