२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


भरतपुर सरकारी अस्पतालमा न्यूरोको उपचार सुरु


0
Shares

भरतपुर अस्पतालमा सिटिस्क्यान जस्ता उपकरण नहुँदा र न्यूरो सर्जनको अभावमा यसअघि अस्पतालमा आउने दुर्घटनाका घाइतेलाई स्थानीय मेडिकल कलेजमा पठाउने गरिन्थ्यो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुद्र मरासिनिका अनुसार हालैमात्र अस्पतालमा सिटिस्क्यानसहित आवश्यक उपकरण जडान गरिएको छ । विगत ६ वर्षदेखि न्यूरोमा अनुभव हासिल गरेका न्यूरो सर्जन डा.गुणराज पौडेलले काम थालेका छन् । अस्पतालमा १० जना अर्थोपेडिक सर्जन कार्यरत छन् ।

अस्पतालमा ६ ओटा शल्यक्रिया गर्ने टेबलसहितको सेट छ । ट्रमा र चोटपटक सम्बन्धिका नेपालमा हुने उपचार अब भरतपुर अस्पतालमा गर्न सकिने मेडिकल सुपरिटेण्डेन्ट डा.मरासिनिले बताए ।

अस्पतालमा नियमित रुपमा न्यूरोका सातामा तीन दिन शल्यक्रियासमेत सुरु गरिएको उनले बताए । उनका अनुसार आइतबार, मंगलबार र बिहीबार नियमित शल्यक्रिया हुन्छ भने २४ सै घण्टा दुर्घटनाका घाइतेलाई आवश्यक शल्यक्रियासहितको उपचार गर्न सकिने ब्यबस्था गरिएको छ ।

भरतपुर अस्पताललाई मदनभण्डारी ट्रमा सेन्टरको नामाकरण दिइएको भएपनि न्यून बजेट निकासा भएका कारण काम सुरु हुनसकेको छैन् । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार भण्डारीले अस्पतालको आफ्नै प्रयासमा न्यूरो सर्जन नियुक्त गरी सिटिस्क्यानसहितका उपकरण जडान गर्न सफल भएपछि ट्रमा सेन्टरको रुपमा अस्पताल अघि बढेको बताए ।

उनले जिल्ला र छिमेकी जिल्लामा हुने सबैखाले दुर्घटनाका घाइतेले अब सरकारी अस्पतालमा न्यून शुल्कमा उपचार पाउने बताए । स्थानीय प्रशासनसँग समन्वय गरी जिल्लामा आउने घाइतेलाई उपचार गर्ने पहिलो थलोको रुपमा भरतपुर अस्पताललाई विकास गर्ने योजना रहेको पनि अध्यक्ष भण्डारीले बताए ।

दुर्घटनाका घाइतेको उपचार निकै खर्चिलो हुने भए पनि सकेसम्म कम रकममा उपचार गर्ने प्रबन्ध अस्पतालले मिलाउने दाबी उनको छ ।

सवारी दुर्घटनामा परेका घाइतेको बढी टाउकोमा चोट लाग्ने गर्दछ । अस्पतालमा सरदर दैनिक दुई जना गम्भीर घाइते आउने गर्दछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार गत वर्षमा जिल्लामा गम्भीर घाइतेको संख्या ५७५ रहेको थियो । सामान्य घाइते निकै बढी हुनेगरेको भन्दै उनले छिमेकी जिल्लाबाट पनि जिल्लामा हुने भन्दा बढी घाइते उपचारका लागि यहाँ आउने गरेको बताए ।

कैयौं घाइतेको लामो समयको उपचारपछि मृत्युसमेत हुनेगर्दछ भने कतिपयलाई उपचार नै लामो समय गर्नुपर्ने हुन्छ ।

सरकारी अस्पताल परिसरमानै स्पाइनल इन्जुरी केन्द्र रहेकाले पनि सबै खाले दुर्घटनाका घाइतेलाई उपचारका लागि भरतपुर अस्पताल उपयुक्त हुने भरतपुर अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा.कृष्ण पौडेलले बताए । रासस