
२ नम्बर प्रदेशमा गरिन लागेको निर्वाचनको व्यवस्थापकीय काममा राज्यका सबै निकाय जुटिरहेका छन् भने राजनीतिक दलहरु उम्मेदवार चयन गर्दै चुनावी मैदानमा ओर्लिएका छन् ।
वर्ष २०७४ नेपालीका लागि निर्वाचनमय बनेको छ । स्थानीय तहको निर्वाचनबाट सुरु भएको चुनावी अभियान प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकाएर टुंग्गिदैछ ।
स्थानीय तहको दुई चरणका निर्वाचन सकिएको छ भने आगामी असोज २ गते प्रदेश नम्बर–२ मा तेस्रो चरणको चुनाव हुँदैछ । यसका लागि निर्वाचन आयोग, राजनीतिक दलदेखि मतदातासमेत जुटिसकेका छन् ।
निर्वाचन आयोग मतदानका लागि आवश्यक सबै कामको व्यवस्थापनमा लागेको छ भने राजनीतिक दलहरु उम्मेदवारहरु तय गर्दै मैदानमा ओर्लिएका छन् ।
मतदाताहरु मतदाता शिक्षामा सहभागी हुनेदेखि चुनावी अभियानहरुमा सक्रिय देखिएका छन् ।
यसैक्रममा निर्वाचनको सुरक्षा जिम्मेवारी पाएका संयन्त्रहरु भने सुरक्षा प्रबन्धमा जुटेका छन् । सुरक्षाका दृष्टिले संवेदनशील ठानिएका क्षेत्र भएकाले पनि सुरक्षा अधिकारीहरु कुनै चूक नहुने गरी तयारीमा जुटेका छन् ।
निर्वाचन सुरक्षामा राज्यका चारै सुरक्षा अंग नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान निकाय सक्रिय भएका छन् ।
ती निकायले जिल्लाहरुलाई सामान्य, संवेदनशील, र अतिसंवेदनशील गरी तीन तहमा विभाजन गरी सुरक्षा रणनीति तयार पारेका छन् ।
निर्वाचनमा कुनैखाले अराजक गतिविधि र अप्रिय घटना हुन नदिनकै लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सेना परिचालन गर्न अनुमति दिइसकेकी छन् ।
यद्यपि, निर्वाचनजस्तो प्रजातान्त्रिक प्रक्रियामा सेना संलग्न गराउनु कत्तिको उचित हो भन्ने टिप्पणी पनि भएका छन् ।
यस्ता टिप्पणीहरुप्रति भने प्रधानसेनापनि राजेन्द्रबहादुर क्षत्री मतदाताले बिनासंकोच, निडरताका साथ आफ्नो मत दिने वातावरणकै लागि सेनाले आफ्नो जिम्मेवारी पूरा गर्ने बताउँछन् ।
सेनाले आवश्यकताअनुसार बाहिनीपतिहरुको कमान्डमा फौजलाई जिम्मेवारी दिँदैछ ।
सुरक्षा घेरामा पहिलो पंक्तिमा रहने नेपाल प्रहरीले पनि निर्वाचनका लागि सबै तयारी पूरा गरेको छ ।
आवश्यकताअनुसार संवेदनशील र अतिसंवेदनशील क्षेत्रमा प्रहरी खटिने नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपाने बताउँछन् ।
पहिलो घेरामा रहने प्रहरीको पूर्ण ध्यान कुनै अप्रिय घटना हुन नदिनकेन्द्रित रहने उनी बताउँछन् ।
दोस्रो घेरामा रहने सशस्त्र प्रहरी बलले पनि चुनावलक्षित गरी आफ्नो तयारी पूरा गरेको छ ।
प्रदेश नम्बर–२ मा दुईओटा गणअन्तर्गत् आवश्यकताअनुसारको सशस्त्र प्रहरी बल परिचालन गरिने सशस्त्र प्रहरीका प्रवक्त राजु अर्यालको भनाइ छ ।
दोस्रो घेरामा रहेपनि आवश्यकताअनुसार थप प्रहरी परिचालन गरिने उनको भनाइ छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्