Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


राजनीतिक नियुक्ति नगर्न निर्देशन


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको बैठकले सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष एवं सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनैपनि राजनीतिक नियुक्ति नगर्न भनेको छ ।

संयुक्त राष्ट्रसंघ, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लगायत अन्तर्राष्ट्रिय संस्था तथा क्षेत्रीय संगठनमा भाग लिन वा विदेशी राष्ट्रको भ्रमणमा राज्यको प्रतिनिधित्व गर्नेबाहेक अन्य वैदेशिक भ्रमणमा रोक लगाउने तथा राज्यको प्रतिनिधित्व गर्नेगरी विदेश भ्रमणमा पठाउनुपर्ने भए स्वीकृतिका लागि सहमति माग गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता जारी भइसकेका अवस्थामा कर्मचारीको सरुवा र काजसरुवा नगर्न सरकारलाई निर्देशन दिँदै आयोगले भनेको छ–‘प्राकृतिक प्रकोप वा अकल्पनीय घटना, उच्च राष्ट्रिय प्राथमिकतासँग सम्बन्धित विषयमा वा राष्ट्रिय गौरवका आयोजनाको हकमा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन गर्दा आयोगबाट पूर्वस्वीकृति लिनेबाहेक अन्य अवस्थामा बजेट थप, रकमान्तर तथा कार्यक्रम संशोधन सहमति माग नगर्ने ।’

राजनीतिक नियुक्ति पाएका व्यक्तिले जिल्ला भ्रमण गर्दा निर्वाचन प्रचार–प्रसारबाहेक सरकारी काममामात्र सवारी–साधन प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिँदै आयोगले प्रधानमन्त्रीलाई हेलिकोप्टर प्रयोग गर्दा आयोगबाट स्वीकृति लिन तथा मन्त्री तथा सार्वजनिक पद धारण गरेका व्यक्तिलाई सरकारी काममा हेलिकोप्टर प्रयोग नगर्न भनेको छ ।

आयोगको पूर्वसहमति लिएरमात्र निजी हेलिकोप्टर प्रयोग गर्न सरकारलाई सुझाव दिँदै बुधबारदेखि लागू भएको आचारसंहिताको पूर्णरुपले परिपालना गर्ने र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नवराज ढकालद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस