
कांग्रेसले २ नम्बर प्रदेशका सबै उम्मदेवारबारे शुक्रबार जानकारी दिने तयारी गरेको छ । महामन्त्री शशांक कोइराला र नेता विमलेन्द्र निधिबीचको छलफलपछि अधिकांश उम्मेदवार तय भएको बताइएको छ ।
शुक्रबार २ नम्बर प्रदेशका केन्द्रीय सदस्य र पार्टी पदाधिकारीको बैठक बसेर उम्मेदवारको नाम सार्वजनिक गरिने बताइएको छ ।
कांग्रेसले वीरगञ्ज महानगरपालिकाको मेयरमा अजय द्विवेदीलाई उम्मेदवार बनाएको छ । पूर्वसभासद समेत रहेका द्विवेदी हाल कांग्रेस पर्साका सभापति छन् ।
जनकपुर उपमहानगरपालिकाको मेयरमा भने मनोजकुमार साहलाई उम्मेदवार बनाउने सहमति गरिएको बताइएको छ । द्विवेदी र साह दुबै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन् ।
बाराको कलैया उपमहानगरपालिकाको मेयरमा राजेश यादवलाई उम्मेदवार बनाउने सहमति नेताहरुबीच भएको छ । राजेश कांग्रेस केन्द्रीय सदस्य तथा बारा–१ का सांसद राधेचन्द्र यादवका छोरा हुन् ।
बाराकै सिमरा जितपुर उपमहानगरपालिकाको मेयरमा भने पूर्वसांसद शोभाकर पराजुली र कृष्ण बरत सिंहमध्ये एक जनालाई टुंगो लगाइने छ ।
प्रतिक्रिया दिनुहोस्