२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


चितवनमा ‘स्क्रबटाइफस’बाट दुईजनाको मृत्यु, १३९ संक्रमित


0
Shares

जिल्ला जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार साउन १ गतेबाट भदौ १५ गते सम्ममा ५२९ जनाको रक्त परीक्षण गरिएकामा भरतपुर अस्पतालमा ४० जना, बकुलहर अस्पताल रत्ननगरमा ४० जना, चितवन मेडिकल कलेजमा ३१ जना, नारायणी सामुदायिक अस्पतालमा ४२ जना, मनकामना अस्पतालमा दुईजना, निर्णय डाइग्नोस्टिकमा १३ जना र सेन्टर अस्पतालमा एकजनामा स्क्रबटाइफसको लक्षण देखा परेको हो ।

केसीका अनुसार उक्त रोगबाट साउन २२ गते नारायणी सामुदायिकमा भर्ना भएकी नवलपरासीको रजहरकी २४ वर्षीया एक महिला र नवलपरासीको लक्ष्मीपुरकी २१ वर्षीया अर्की एक महिलाको भदौ १० गते सेन्ट्रल अस्पतालमा मृत्यु भएको थियो । ढिलागरी उपचार गर्न आएकाले उनीहरुको मृत्यु भएको चिकित्सकले जनाएका छन् ।

गतवर्ष भरतपुरमा चारजनाको स्क्रबटाइफसबाट मृत्यु भएको थियो । गतवर्षको साउन महिनामा ‘स्क्रबटाइफस’बाट ७९ जना प्रभावित भएकोमा यसवर्ष साउन महिनामा १०४ जना प्रभावित भएकाले रोगीको संख्या बढ्दो रहेको केसीले बताए ।

मुसाको शरीरमा हुने सुक्ष्म ‘माइट’ नामक कीराले टोकेमा यो रोग सर्ने गर्दछ । रासस