२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


जाजरकोटमा भाइरल ज्वरोको संक्रमण बढेपछि स्वास्थ्य शिविर सन्चालन


0
Shares

मौसमी भाइरलको संक्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट बिहीबार गएको स्वास्थ्यकर्मीसहितको टोलीले शुक्रबार दिउँसोदेखि त्रिवेणीनलगाड नगरपालिका–५ स्थित सरस्वती प्रावि मुलीमा शिविर सन्चालन गरी उपचार शुरु गरेको हो ।

शिविरमा ९० जनाको स्वास्थ्य उपचार गरिएकोमा तीमध्ये २० जना सिकिस्त बिरामी फेला परेको स्वास्थ्यचौकी लहँका अहेव हेमन्त रावलले जानकारी दिए ।

दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको संख्या अत्यधिक बढेको छ । जिल्लामा अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको संख्या उच्च छ ।

सिकिस्त बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको रावलले बताए । आज इन्द्रधनुष प्राथमिक विद्यालय पोख्रामा थप केन्द्र विस्तार गरी उपचार कार्य सुरु गरिएको छ । बिहानैबाट सुरु भएको बिरामीको स्वास्थ्य उपचार कार्य अहिले जारी रहेको रावलले बताए । उपचार गर्दागर्दै औषधि सकिएका कारण थप औषधि लिन लहँ स्वास्थ्य चौकीमा कार्यालय सहयोगीलाई पठाएको उनले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयबाट थप स्वास्थ्यकर्मीको टोली गएर आज बिहानैदेखि मुलीमै उपचार कार्यमा लागेको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसमिति सदस्य प्रशान्त शर्माले बताए ।

डा.सन्जय थापालका अनुसार सो शिविरमा अहिलेसम्म ६० जनाको उपचार भइसकेको छ । डा.थापासहित चारजना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ । अहिलेसम्म थर्ममिटर र कम्पासकै भरमा उपचार भएको छ, खकार, रगत जाँच गर्ने उपकारण नभएका कारण अनुमानकै भरमा उपचारमा जुटेको रावलले बताए ।

मौसममा सुधार नआएका कारण उपचारमा समस्या उत्पन्न भएको छ भने गाउँमै उपचार गर्न पाएपछि स्थानीय खुशी भएका छन् ।

राससबाट बिहीबार ‘गाउँलेले उपचार नपाउँदा समस्या’ भन्ने समाचार प्रकाशित भएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो । रासस

भाइरल ज्वरोबाट जाजरकोटमा दुई नाबालकको मृत्यु, सयौं विरामी