Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


कस्तो हुन्छ सुक्खा बन्दरगाह ?


0
Shares

काठमाडौं, माघ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गरेको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सारबाट जाँचपास गरी ल्याइने सामग्री राखिने भएको छ ।

१९ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त सुक्खा बन्दरगाह निर्माणको जिम्मा दुईओटा कम्पनीलाई दिइएको छ ।

आयात गरिएको र निर्यात गर्ने सामग्री भन्डारण गर्नका लागि ६ हजार वर्गमिटर क्षेत्रफलमा बन्दरगाह बनाउन लागिएको हो ।

जसमा विश्व बैंकको करिब दुई अर्ब रुपैयाँ सहयोग तथा उद्योग मन्त्रालयअन्तर्गत्को इन्टरमोडल यातायात विकास समितिको लगानीमा बन्दरगाह निर्माण हुनेछ ।

बन्दरगाहको शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बन्दरगाहले उपत्यकाबाहिरबाट आउने सामानको व्यवस्थापन गर्न सहज हुने र उपत्यकाबाहिर लैजान पनि सहज हुने बताए ।

बन्दरगाहमा बन्ने गोदामघरले आयात प्रतिस्थापन गर्ने र निर्यात गर्न सहज हुने भन्दै उनले व्यापार घाटा पनि कम गर्न सहयोग गर्ने बताए ।

कार्यक्रममा इन्टरमोडल यातायात विकास समितिका प्रमुख कार्यकारी निर्देशक रविशंकर सैजुले बन्दरगाह निर्माणपछि सोही स्थानमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बन्ने र त्यसबाट आर्थिक विकास र रोजगारी अभिवृद्धि गर्न सहज हुने बताए ।

विभिन्न भन्सार नाकाहरुबाट सामान ल्याउन सहज बनाउन सिन्धुपाल्चोकको तातोपानी र रसुवाको लार्चामासमेत सुक्खा बन्दरगाह बनाउने काम जारी रहेको छ ।