Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


शोधनान्तर घाटा हालसम्मकै उच्च


0
Shares

काठमाडौं, माघ ३ । मुलुकमा भित्रनेभन्दा बाहिरिने रकम बढ्दै जाँदा शोधनान्तरमा दबाब बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७५/०७६ को ५ महिनाको आर्थिक स्थितिअनुसार शोधनान्तर घाटा हालसम्मकै उच्च झन्डै ८६ अर्ब पुगेको छ ।

यस अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोड रुपैयाँले घाटामा रहेको हो ।

अघिल्लो वर्षको यसै अवधिमा शोधनान्तर स्थिति ५ अर्ब ४८ करोडले घाटामा रहेको थियो ।

यस्तै, समीक्षा अवधिमा चालू खाता घाटा विस्तार भइ ११९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो घाटा ६४ अर्ब ११ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको ५ महिनामा ६२ करोड ३ लाख रहेको चालू खाता घाटा समीक्षा अवधिमा एक अर्ब ४ करोड ४५ लाख पुगेको हो ।

यस अवधिमा मूल्यवृद्धि ३.७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा मूल्यवृद्धि ४.२ प्रतिशत रहेको थियो । 

यसैगरी मंसिर महिनासम्ममा कुल वस्तु निर्यात ११.२ प्रतिशतले वृद्धि भइ ३७ अर्ब ५० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० प्रतिशतले वृद्धि भएकोे थियो ।

यस अवधिमा आयात ३४.२ प्रतिशतले बढेर ६०७ अर्ब पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यस्तो आयात १८.२ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को ५ महिनामा कुल वस्तु व्यापार घाटा ३६ प्रतिशतले विस्तार भइ ५६९ अर्ब ४९ करोड पुगेको छ ।

समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च २७३ अर्ब ७४ करोड पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा यस्तो खर्च २५६ अर्ब ३० करोड रहेको थियो ।

यस अवधिमा चालू खर्च २२१ अर्ब ९६ करोड पुगेकोे छ ।

अघिल्लो वर्षको यसै अवधिमा यस्तो खर्च २२२ अर्ब ६२ करोड रहेको थियो ।

समीक्षा अवधिमा ३४ अर्ब ४ करोड पुँजीगत खर्च भएको छ ।

Skip This