२५ बैशाख २०८२, बिहिबार | Fri May 9 2025


‘बाढी प्रभावित जिल्लामा सरकारी चिकित्सक भेटिँदैनन्’


0
Shares

बाढी प्रभावित क्षेत्रमा बिरामीको संख्या बढ्दै गए पनि जिल्ला अस्पतालमा चौबीसै घण्टा चिकित्सक भेटिँदैनन् । प्रयोगशालासमेत खुला नहुँदा रातको समयमा उपचारका लागि नेपालगन्ज लैजानुपर्ने बाध्यता छ ।

बाढी प्रभावित क्षेत्रमा भाइरल ज्वरो, रुघाखोकीलगायत बिरामी बढ्दै गए पनि जिल्ला अस्पतालमा पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या भइरहेको स्थानीयवासीको गुनासो छ ।

बाढीपछि बिरामीको चाप बढ्दै गएको छ । अस्पतालमा दैनिक १५० बढी बिरामी उपचारका लागि बहिरंग सेवामा आउने गरेको डा.रन्जन थपलियाले बताए । पचास श्यैयाको अस्पतालमा दैनिक ५० भन्दा बढी बिरामी आकस्मिक सेवामा उपचारका लागि आउने गरेका छन् । त्यहाँ खटिने स्वास्थ्यकर्मी पनि प्रायः नभेटिने गरेको गुनासो बिरामीको छ ।

अस्पतालमा एक वर्षदेखि एनालाइजर उपकरणको सुविधा भए पनि सेवा दिन सकिएकों छैन ।

एनालाइजर मेसिनमार्फत कलेजो, मिर्गाैला र मधुमेहलगायत रोगको रगत परीक्षण हुने भए पनि चौबीसै घण्टा सुविधा उपलब्ध नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालले चौबीसै घण्टा औषधालय सन्चालनका लागि आवश्यक जनशक्ति नभएको बताउँदै आएको छ ।

विशेषज्ञसहित १४ चिकित्सकको दरबन्दी भए पनि ५ जनामात्र कार्यरत छन् । अस्पताल विकास समितिले दुई वर्षदेखि करारमा स्वास्थ्य सहायक, स्टाफ नर्स र प्रयोगशाला प्राविधिक गरी १८ जनालाई राखेको छ । समितिले करार सेवाका ती कर्मचारीलाई मासिक करिब रु दुई लाख तलबभत्ता दिँदै आएको छ ।

प्राविधिकतर्फका ती कर्मचारीलाई औषधालय र प्रयोगशालामा पालोअनुसार खटाउने भनिए पनि दुवै सेवा उपलब्ध नहुँदा बिरामीलाई सास्ती छ । विकास समिति अध्यक्ष दुर्गा सापकोटाले केही यन्त्र बिग्रिएकाले उपचारमा समस्या भएको स्वीकार गरेका छन् । रासस