१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


बाढी र डुबानको पीडा भुलेर रौतहटबासी चुनावमा होमिए (भिडियो)


0
Shares

विगतमा जे जस्तो भए पनि अब समृद्धिको बाटोमा लाग्न पनि निर्वाचनमा हुनैपर्ने उनीहरुको भनाई छ ।

उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन नजिकिँदै गर्दासम्म पनि रौतहटका राजनीतिक दलहरुले सबै तहका उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

तर पनि कार्यकर्ताहरु आ–आफनो घर र सवारी साधनमा पार्टी र चुनावचिन्ह अंकित झण्डा फहराउँदै मत माग्न थालेका छन् ।

राजपा नेपालले चुनावमा भाग लिएसँगै रौतहटमा चुनावी माहोल बढेको छ । ढिलै भए पनि चुनाव हुन लागेकाले रौनक छाएको स्थानीय बताउँछन् ।

राजनीतिक दलका कार्यकर्ताहरु उत्साहित हुँदै मत माग्न थालेपछि मतदाता पनि चुनाव हुनेमा आशावादी देखिएका छन् । उनीहरु चुनावपछि विकासले फड्को मार्नेमा विश्वस्त छन् ।

मतदाताहरु गत साउनमा गएको बाढीको चपेटालाई भुलेर निर्वाचनको पर्खाइमा देखिन्छन् । निर्वाचनपछि आफूहरुले राहत पाउने आशा पनि उनीहरुले राखेका छन् ।

लामो समयदेखि कर्मचारीका भरमा स्थानीय तह सञ्चालन हुँदा सेवाग्राहीले सास्ती भोग्दै आउनुपरेको थियो ।

तर अब जनप्रतिनिधि चयन पछि भने आफ्नो काम सहज रुपमा हुने आशामा पनि मतदाता निर्वाचनको व्यग्र प्रतिक्षामा छन् ।

दुई गाउँपालिका र १६ वटा नगरपालिका रहेको रौतहटका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको निर्वाचन अधिकृत राजन श्रीवास्तले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले पनि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेका छन् ।

आगामी असोज २ गते हुने चुनावमा रौतहटमा २ सय ७७ मतदान स्थल तोकिएका छन् भने ४ सय ३४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

३ लाख २१ हजार १८ जना मतदाता रहेको रौतहटका १८ स्थानीय तहबाट ८ सय २१ जना प्रतिनिधि चयन हुने छन् ।