१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


असोज २ गते २ नम्बर प्रदेशमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन आग्रह


0
Shares

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको बैठकले तेस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचन हुने जिल्लाका सरकारी, अर्धसरकारी कार्यालय र सार्वजनिक संस्थानहरुमा असोज २ गते सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन गृह मन्त्रालयसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

तेस्रो चरणअन्तर्गत् सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटका १३६ स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ ।

यसैगरी, आयोगले ती जिल्लाका सार्वजनिक एवं संस्थागत विद्यालय र क्याम्पसमा यही भदौ २९ देखि असोज २ गतेसम्म पाँच दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन पनि शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ ।

निर्वाचनमा मतदानकार्य सन्चालनका लागि तोकिएका अधिकांश मतदान केन्द्र विभिन्न सार्वजनिक एवं संस्थागत विद्यालय, क्याम्पस लगायतका शैक्षिक संस्थामा रहेकाले उक्त समयावधिसम्म ती जिल्लाका सबै शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन आयोगले आग्रह गर्ने निर्णय गरेको हो ।

मतदानपछि पनि कुनै सार्वजनिक वा संस्थागत विद्यालय र क्याम्पसमा मतगणना हुने अवस्था आएमा मतगणनाकार्य सम्पन्न नभएसम्म ती विद्यालय वा क्याम्पस भवन र परिसर उपलब्ध गराइदिने व्यवस्था मिलाउनसमेत शिक्षा मन्त्रालयलाई आयोगले अनुरोध गरेको छ ।

यसैगरी, उक्त निर्वाचनको मतदानकार्य सन्चालनका लागि मतदान केन्द्र तोकिएका गाउँपालिका तथा नगरपालिकाका, वडा कार्यालय, स्वास्थ्यचौकी, कृषि सेवा केन्द्रलगायतका सार्वजनिक भवन र परिसर उपलब्ध गराइदिनसमेत आयोगले सम्बन्धित निकायसँग आग्रह गरेको प्रवक्ता ढकालले जानकारी दिए । रासस