Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


क्यानका पूर्वअध्यक्ष शाहको निधन


0
Shares

लामो समयदेखि मुटुरोगबाट ग्रसित ८९ वर्षीय नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी शाहको उपचारकाक्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

शाहले वि.सं. २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए । उनले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरे । शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन थालेको हो ।

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान)का निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताए ।

कार्यथलो बैतडीमा रहेका अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए ।

‘क्रिकेटलाई संस्थागत गर्न शाहको अहम भूमिका रह्यो, उहाँले नै नेपाली क्रिकेटलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउनु भएको हो’–अध्यक्ष चन्दले भने ।

शाहको नाममा उनी जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सन्चालन भएको थियो । सो प्रतियोगिता २०५८ सालपछि एकाएक रोकियो ।

उनी एसियाली क्रिकेट परिषद (एसिसी)को उपाध्यक्षसमेत रहिसकेका छन् ।

गत भदौ ६ गते काठमाडौंमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुदमन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

‘९६ वर्षसम्म त बाँच्छु होला’–सम्मानित भएपछि साधारणसभामा मन्तव्यकाक्रममा शाहले भनेको कुरा स्मरण गर्दै अध्यक्ष चन्दले भने ।

शाहले भारतमा क्रिकेट खेल्नेक्रममा ९६ रन बनाएका थिए । उनी क्रिकेट खेल्दा आफू शतक बनाउनबाट चुकेको कुरालाई बारम्बार स्मरण गर्थे ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शाहलाई सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो । उक्त पुरस्कार पाउने उनी पहिलो नेपाली हुन् । रासस