१४ असार २०८२, शनिबार | Sat Jun 28 2025


प्रदेश–२ का ८ जिल्लामा कहाँ–कति मतदाता, मतदानस्थल ?


0
Shares

१३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक भएको निर्वाचन आयोगले जनाएको छ ।

तराईका भू–भागलाईमात्र समेटेर बनाइएको प्रदेश नम्बर–२ मा ८ जिल्ला रहेका छन् ।

प्रदेश–२ मा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । प्रदेश नम्बर–२ का ८ जिल्लामा २६ लाख ६४ हजार ९५० मतदाता छन् ।

१३६ स्थानीय तहमा असोज २ गते हुने निर्वाचनवाट ६ हजार ६२७ जना जनप्रतिनिधि चुनिनेछन् । प्रदेश नम्बर–२ का ८ जिल्लामा १२ सय ७१ वडा छन् ।

प्रदेश नम्बर–२ का ८ जिल्लामध्ये सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला सर्लाही हो ।

सर्लाहीमा १० नगरपािलका र १० गाउँपालिका गरी २० स्थानीय तह रहेका छन् भने निर्वाचनका लागि ३१८ मतदानस्थल र ५०१ मतदान केन्द्र तोकिएको छ । सर्लाहीको मतदाता संख्या ३ लाख ६६ हजार ६०० रहेको छ ।

३ लाख ३१ हजार ६७९ मतदाता रहेको सप्तरीमा १८ स्थानीय तह छन् । निर्वाचनको लागि २९५ मतदानस्थल र ४६२ मतदान केन्द्र कायम गरिएको छ ।

एक महानगरपालिका रहेको पर्सा जिल्लामा १४ स्थानीय तह छन् । २ लाख ८० हजार २१२ मतदाता संख्या रहेको पर्सा जिल्लामा स्थानीय तह निर्वाचनको लागि १६७ मतदानस्थल र ३४४ मतदान केन्द्र तोकिएका छन् ।

स्थानीय तह निर्वाचनको लागि ३२७ मतदानस्थल र ५३२ मतदानकेन्द्र तोकिएको धनुषा जिल्लामा १ उपमहानगरपालिकासहित १८ स्थानीय तह रहेका छन् । धनुषामा ३ लाख ८९ हजार ३९१ मतदाता रहेका छन् ।

यस्तै, १७ स्थानीय तह रहेको सिराहा जिल्लामा ३ लाख ३२ हजार ८९५ मतदाता रहेका छन् भने २२१ मतदानस्थल र ४३१ मतदान केन्द्र कायम गरिएको छ ।

असोज २ गते चुनाव हुन लागेको अर्को जिल्ला रौतहटमा १८ स्थानीय तह छन् । ३ लाख २१ हजार १८ मतदाता रहेको रौतहटमा २७७ मतदानस्थल र ४३४ मतदान केन्द्र तोकिएको छ ।

२ उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारा जिल्लामा स्थानीय तह निर्वाचनको लागि ३०४ मतदानस्थल र ४५९ मतदान केन्द्र तोकिएको छ भने बारा जिल्लामा ३ लाख ३४ हजार ७४६ मतदाता रहेका छन् ।

यस्तै, ३ लाख ८ हजार ४०९ मतदातासंख्या रहेको महोत्तरी जिल्लामा १५ स्थानीय तह रहेका छन् भने निर्वाचनको लागि २५७ मतदानस्थल र ४१५ मतदान केन्द्र कायम गरिएको छ ।

भिडियो हेर्नुहोस्