
आयुस्मान र प्रियंका आगामी असोज ११ गते आउन लागेको चलचित्र ‘छक्का पन्जा–२’ मा मुख्य भूमिकामै देखिएका छन् । तर, सँगै देखिएका छैनन् । यसकारण उनीहरुले ‘अनस्क्रिन रोमान्स’ गर्न पाएनन् ।
सिनेवृत्त तताइरहेको यो जोडीको प्रेमलीलाबारे इमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘पेज–थ्री’मा नायिका कार्कीले खुलेर कुरा गरेकी छन् ।
आफ्नो प्रेमीको बयान गर्न नथाक्ने प्रियंकाले कार्यक्रममा आयुस्मानको निकै तारिफ गरेकी छन् ।
‘आयुस्मानसँग लभ गर्छु भनेर दिन गन्दै नबसेको तर, महिलाप्रति एउटा पुरुषले सोच्ने फराकिलो सोच र सम्मान, कामप्रतिको लगाव, केयरिङ स्वभाव र पारिवारिक सम्बन्धले नजिक हुन बाध्य बनाएको’ प्रियंकाको भनाइ छ ।
एकदमै स्वतन्त्र मन पराउने प्रियंका ‘फ्रि टु बर्थ’मा विश्वास गर्छिन् । भन्छिन्–‘हामी एक–अर्कालाई नियन्त्रण गर्ने, शंका गर्ने र दबाब दिने काम गर्दैनौं ।’
उनी भन्छिन्–‘आयुस्मानको फराकिलो सोच, समझदार, हँसिलो अनुहार र केयरिङ शैलीले सधैं लोभ्याउँछ मलाई ।’
आयुस्मान एकदमै ‘स्वीट एन्ड स्मार्ट’ भएकाले उनकोे अगाडि पर्नेबित्तिकै आफूलाई बच्चा बन्न मन लाग्ने बताउँछिन्, प्रियंका ।
विस्तृत् कुराकानी भिडियोमा हेर्नुहोस्
विगतमा ‘छक्का पन्जा–१’ चलचित्रले राम्रो सफलता पाएकाले सम्पूर्ण टिमलाई धेरै राम्रो गर्नुपर्छ भन्ने एक प्रकारको दबाबले पनि धेरै मेहनत गरेको बताउँदै प्रियंका भन्छिन्–‘छक्का पन्जा–२बाट धेरै आशवादी छु ।’
दसैंलाई लक्षित गरी आगामी असोज ११ गते सार्वजनिक हुन लागेको छक्का पन्जा–२मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, गौरव पहारी, बुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, वर्षा राउतको मुख्य भूमिका रहेको छ ।
साथै, पहिलो भागमा नदेखिएका स्वस्तिमा खड्का, निश्चल बस्नेत र स्वरूपपुरुष ढकाल पनि यो चलचित्रको मुख्य कलाकारकोरुपमा रहेका छन् ।
गत बुधबार साँझ ६ बजेर ५ मिनेट २ सेकेन्डमा ज्योतिषको समयअनुसार चलचित्रको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्