२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


पाठेघर खस्ने समस्याबाट खोटाङका महिलाहरु बढी जोखिममा


0
Shares

वातावरण कृषि तथा विकास केन्द्र (केड)ले आज आयोजित कार्यक्रममा जिल्लाका दिप्रुङ, ऐसेलुखर्क र केपीलासगढी गाउँपालिकाको चार वडामा गरेको अध्ययनले महिलाहरु नै जोखिममा रहेका तथ्यांक सार्वजनिक गरेकोे हो ।

पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनीकरणका क्षेत्रमा काम गर्दै आएको संस्था केडले अध्ययन सार्वजनिक गर्दै चार वडाका १८६ जना महिलाहरुको पाठेघर (आङ) खसेको तथ्यांक सार्वजनिक गरेको छ । केडका अनुसार जिल्लाभरीमध्ये चार वडामा पाठेघर (आङ) खसेका महिलाको संख्या सबैभनदा धेरै रहेको छ ।

दिप्रुङ गाउँपालिका–१ याम्खाका ३५ जना, दिप्रुङ गाउँपालिका–७ टेम्माका ६० जना, ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ६५ जना र केपीलासगढी गाउँपालिका–६ दिप्सुङका २६ महिलाको पाठेघर खसेको केन्द्रकी खोटाङ संयोजक सुजता श्रेष्ठले बताइन् ।

केन्द्रले पीडित महिलासँग गरिएको कुराकानी र स्थानीय स्वास्थ्य संस्थामा गरिएको परिक्षणका क्रममा पाइएको लक्षणका आधारमा पाठेघर (आङ) खसेका महिलाको पहिचान गरिएको बताएको छ । जिल्लामा करिव १७ प्रतिशत महिलाको पाठेघर खसेको अनुमान छ ।

सन् २०१५ मार्चदेखि समुदायमा आधारित पाठेघर (आङ) खस्ने समस्याको रोकथाम, सशक्तीकरण र चेतनामुलक कार्यक्रम गरिरहेको केन्द्रले पाठेघर खसेका १२ महिलाको उपचार गरिएको र अन्य २० जना महिलालाई उपचारका लागि काठमाण्डौं लगिएको उल्लेख गरेको छ ।