२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


प्रहरी हिरासतबाटै अभियुक्त फरार


0
Shares

भद्रकालीको खट्टारस्थित मचिनीमायाँ गोलेको सुन तथा नगद चोरी गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका राजकुमार मोक्तालाई स्थानीयले पक्राउ गरी बिहीबार भद्रकाली प्रहरीचौकीको जिम्मा लगाएका थिए ।

तर, अभियुक्त मोक्तान बिहीबार राति प्रहरी हिरासतबाटै फरार भएका हुन् ।

अभियुक्तमाथि कारबाहीको माग गर्दै शुक्रबार बिहान प्रहरीचौकी पुगेका स्थानीय बासिन्दाहरुलाई प्रहरीले अभियुक्त राति नै फरार भएको जानकारी दिएका थिए ।

अभियुक्त मोक्तानले स्थानीय मचिनीमायाँ गोलेको सुनका गरगहनाका साथै पुराना पैसाहरु चोरी गरेको आरोप छ ।

मोक्तानलाई गरगहना र पैसासहित रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएपनि प्रहरीको लापरबाहीका कारण फरार भएको गोलेका छोरा मानबहादुर गोलेको आरोप छ ।

प्रहरीको लापरबाहीका कारण अभियुक्त फरार भएको कुरा सत्य भएको भन्दै घटनाबारेमा अनुसन्धान थालिएको र फरार अभियुक्तको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

मोक्तानलाई कुनैपनि हालतमा नियन्त्रणमा लिएर कारबाही गरिने सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टिकाबहादुर केसीले बताए ।