
अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा.सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउँछन् । दैनिक सरदर ४० जना सुत्केरी भूइँमा नै हुने गरेको उनले बताए ।
भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् । महानगरमा प्रमुख र उपप्रमुखको शपथपछिको ३२ औं दिनका दिन आज दोस्रोपटक भरतपुर अस्पताल पगेका उनीहरुले प्रसूति गृहको निरीक्षण गरेका थिए । प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह जब प्रसूति गृह पसे, भुइँभरी प्रसव अवस्थाका बिरामी महिला देखे । त्यसो त शपथका दिन पहिलो निर्णय नै उनीहरुले महिला र वृद्धका लागि अस्पतालमा बहिरंग टिकट निःशुल्क गराएका थिए ।
श्यैयाको अभावमा कष्टकर अवस्था देखेपछि प्रमुख दाहालले आउँदा दिनमा सो अवस्था नरहने गरी काम गर्न अस्पताल प्रशासनलाई निर्देशन दिइन् । उनले भनिन्, ‘सक्दो सहयोग महानगरले गर्छ, आवश्यक पहल केन्द्रमा पनि गर्छु, अब महिलाले भुइँमा सुतेर उपचार गर्नुपर्दैन ।’ उनले अस्पतालका स्रोत साधनलाई अधिकतम उपयोग गरी बिरामीको उपचारमा लाग्न निर्देशन पनि दिइन् ।
उपप्रमुख ठकुरीले पनि महानगरभित्रै महिलाले कष्टपूर्ण ढंगले प्रसूति सेवा लिन नपर्ने गरी काम गर्नुपर्ने बताइन् ।
अस्पतालको प्रसूति गृहमा ११० श्यैया छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.रुद्र मरासिनीले वार्षिक रुपमा १४ हजारभन्दा बढी महिलाले अस्पतालबाट प्रसूति सेवा लिने गरेको बताए । राजधानीको प्रसूति गृहपछि नेपालमा सबैभन्दा बढी प्रसूति गराउने अस्पताल भरतपुर अस्पताल रहेको बताइएको छ । अस्पतालमा जम्मा आठ प्रसूति रोग विशेषज्ञ कार्यरत छन् ।
अस्पतालको निरीक्षणका क्रममा डा.मरासिनीले कम्तीमा ५० श्यैयाको प्रसूतिरोग विभाग जरुरत रहेको बताए । त्यसैगरी, उनले जनशक्ति अभाव रहेको, आकस्मिक कक्ष साँघुरो भएको बताउँदै एमआरआई, क्याथल्याब र मानव अंग प्रत्यारोपणका लागि आवश्यक उपकरण व्यवस्था गर्नुपर्ने माग गरे ।
वर्षात्को समयमा पानी जमेर अस्पताल अस्तव्यस्त हुने हुँदा ढलका लागि पनि पहल गरिदिन उनले आग्रह गरेका छन् । भरतपुर अस्पतालमा चितवन र छिमेकी जिल्लाबाट वर्षमा दुई लाख भन्दा बढीले उपचार सेवा लिँदै आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्