२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


सुन व्यापारीलाई लुट्न आएका भारतीय नागरिक हतियारसहित पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालयले आइतबार (आज) पत्रकार सम्मेलन गरी एकथान कटुवा पेस्तोलसहित पक्राउ परेका भारत विहारको पूर्वी चम्पारण रक्सौलको मौजे निवासी महम्मद शम्शेरलाई प्रहरीले सार्वजनिक गरेको हो ।

नियमित चेकजाँचका क्रममा शम्शेरलाई गएराति वीरगन्जको बाइपास सडकखण्डको रामटोलबाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए ।

उनले विआर २२ एम ३२६३ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका शम्शेरमाथि शंका लागी चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनी एकथान कटुवा पेस्तोल र सोमा प्रयोग हुने तीनथान गोलीलगायत प्रतिबन्धित सामान बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए ।

पक्राउ परेका भारतीय नागरिक शम्शेरले वीरगन्जको सुन व्यापारीलाई लुट्न आएको बयानमा बताएको प्रहरी उपरीक्षक गिरीले जानकारी दिए । हातहतियार मुद्दामा ६ वर्ष अगाडि पक्राउ परेर चारवर्ष कैद भुक्तान गरी दुईवर्ष अगाडि शम्शेर रिहा भएको जानकारी दिँदै उनले पुनः वीरगन्जको सुन व्यापारीलाई लुट्ने योजनासहित वीरगन्ज छिरेको बताए ।

विसं २०६८ असार १४ गते वीरगन्जको माइस्थानस्थित अलंकार ज्वेलर्समा लुटपाट गर्ने क्रममा शम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो । हतियारसहित पक्राउ परेका शम्शेरलाई हातहतियार खरखजाना ऐन, २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । रासस