मलेसियामा जारी प्रतियोगिताअन्तर्गत सोमबार नेपालले खेलेको पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले हराएको हो ।
मलेसियाको क्लब अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि कमजोर मानिएको थाइल्यान्ड १० ओभरमा २६ रनमा समेटियो ।
थाइल्याण्डलाई सस्तैमा रोक्ने क्रममा लामिछानेले ४ ओभर बलिङ गर्दै एक मेडनसहित ६ रन खर्चिएर ७ विकेट लिए । थप तीन विकेट कप्तान दीपेन्द्रसिंह ऐरी, नन्दन यादव र किशोर महतोले लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो । मध्यम सुरुवात गरेको नेपालका लागि अनिलकुमार साहले सर्वाधिक ९१ रन बनाए ।
उनले ७४ बलमा ६ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै प्रनित थापामगरले ६१ बल खेलेर ५० रन बनाए । रोहित पौडेलले २८ रन जोड्दा कप्तान दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए ।
ओपनर मोहमद आसिफ शेखले २१ रन बनाए भने पवन शर्राफ २२ र किशोर महतो २ रनमा अविजित रहे ।
नेपालले समूह ए को दोस्रो खेलमा बुधबार भुटानसँग तथा समूहको अन्तिम खेलमा बिहीबार सिंगापुरसँग खेल्नेछ ।
एसीसी यू–१९ पूर्वी क्षेत्रको छनोटमा नेपालसहित ८ देशले प्रतिस्पर्धा गरिरहेका छन् । समूह बी मा आयोजक मलेसियासँगै हङ्कङ, चीन र म्यानमार रहेका छन् ।
प्रतियोगिताको फाइनलमा पुग्ने टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट मान्यता प्राप्त राष्ट्रका युथ टोलीसँग खेल्ने मौका पाउनेछन् ।





प्रतिक्रिया दिनुहोस्