सुजित भण्डारी र मनीता कोइराला (इमेज)
नुवाकोट, रसुवा, माघ १ । नुवाकोटमा हरेक वर्षको माघेसंक्रान्तिमा आयोजना गरिने गोरु जुधाउने मेला यस वर्ष पनि धुमधामका साथ सम्पन्न भएको छ ।
करिब २०० वर्षको इतिहास बोकेको यो मेला पछिल्ला वर्षहरुमा पनि उत्तिकै लोकप्रिय छ ।
बझांगी राजा जयपृथ्वीबहादुर सिंह मावली जाँदा उनको मनोरन्जनका लागि गोरु जुधाएर देखाइएको र त्यसपछि विकसित भएको गोरु जुधाएर मनोरन्जन लिने परम्परा अहिलेपनि कायमै छ ।
गोरु जुधाउने ठाउँकारुपमा प्रख्यात नुवाकोटको तारुकामा यस वर्ष पनि धुमधामका साथ मेला सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न स्थानमा गोरु जुधाइ हुने भएपनि विगत १३ वर्षदेखि तारुका र बेत्रावतीमा व्यवस्थित तरिकाले यो मेला आयोजना हुँदै आइरहेको छ ।
यस वर्ष तारुकमा २३, बेत्रावतीमा ८ र घलेगाउँमा १६ हल गोरुको भिडन्त भएको छ ।
मेलामा नुवाकोट, रसुवा, काठमाडौं, धादिङलगातका जिल्लाबाट हजारौंको संख्यामा दर्शकहरुको सहभागिता रहेको थियो ।
आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्नका लागि गोरु जुधाइ मेलालाई व्यवस्थित बनाउँदै आएको मेला आयोजक समितिका सदस्य चक्रबहादुर डंगोलले बताए ।
प्रतियोगितामा सहभागिता गराउने र आफूले पालेको गोरुले प्रतियोगिता जितोस् भन्नेमा किसानहरुको प्रतिस्पर्धा नै चल्दछ ।
विभिन्न ठाउँबाट मेला भर्न आएका दर्शकहरु पनि गोरुहरुबीचको आक्रामक जुधाइले रमाइरहेका थिए ।
यो वर्षदेखि सुरु भएको स्थानीय कला, संस्कृति झल्कने झाँकी, सांस्कृतिक कार्यक्रम, स्थानीय र लोकभजनलगायतका कार्यक्रमले मेलाको आकर्षण बेग्लै बनेको थियो ।
महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले संस्कृतिको संरक्षण तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले यसको व्यवस्थापनमा सक्रियता देखाइरहेका छन् ।
इतिहास र परम्पराबाट विकसित भएको यो मेला मनोरन्जनको माध्यम र खेलजात्रा बनेको छ ।









प्रतिक्रिया दिनुहोस्