
आज(मंगलबार) राजधानीमा आयोजित कार्यक्रममा देवकुमार श्रेष्ठले नेपाल-भारत सीमानामा नेपालीले भोग्नुपरेका सत्य घटनालाई समेटेर चलचित्र निर्माण गर्न लागेको जानकारी दिए ।
उक्त चलचित्रमा नेपाली अभिनेत्री र भारतीय अभिनेताको मुख्य भूमिका रहने छन् ।
चलचित्रको मुख्य भूमिकामा भारतीय कलाकार दीपक आनन्द र करणकुमार बर्माको टुंगो लागेपनि नायिकाको टुंगो केही दिनमै लाग्ने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा क्षीतिजा शाक्य, नसिमा आचार्य र अनुप सक्सेनाको पनि अभिनय रहने बताइएको छ ।
बलिउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय दीपकले ‘लभ सब प्यार व्यार’, ‘अञ्जान’, ‘ह्यांग टिल डेथ’लगायत टलिउड फिल्म तथा मराठी चलचित्रमा अभिनय गरेका छन् ।
यस चलचित्रमा दीपक भारतबाट नेपाल आएर सीमा क्षेत्रमा बसोबास गरिरहेका युवकको भूमिकामा रहने बताइएको छ ।
चलचित्र मंसिर अन्तिम साताबाट छायांकन सुरु हुने बताइएको छ ।
चलचित्रमा रामेश्वर कार्कीको छायांकन, जयराज रायको कथा, सुशील पोखरेलको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहने छ ।
जयराज राय र निशा खतिवडाले निर्माण गर्ने चलचित्र ’‘द कर्मा’ को छायांकन नेपालको तराई क्षेत्र र भारतको सिक्किममा हुनेछ । रासस
प्रतिक्रिया दिनुहोस्