१४ असार २०८२, शनिबार | Sun Jun 29 2025


जनकपुर उपमहानगरः यस्ता छन् उम्मेदवारका एजेन्डा (भिडियो)


0
Shares

राजनीतिक दलका उम्मेदवारहरु जनकपुरको समग्र विकासको एजेन्डासहित चुनावी मैदानमा होमिएका छन् ।

उनीहरु जनकपुरलाई प्रदेश नम्बर–२ कै समृद्ध बनाउने घोषणा गरेर मतदाताको मन जित्ने प्रयासमा लागेका हुन् ।

जनकपुर उपमहानगरपालिकालाई प्रदेश नम्बर–२ को सम्भावित राजधानीकोरुपमासमेत हेर्ने गरिएको छ ।

ऋषिमुनिहरुको भूमि, ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक दृष्टिले जनकपुरलाई महत्वपूर्ण मानिन्छ । तरm विकासमा भने जनकपुर निकै पछाडि पर्दै आएको छ ।

आगामी साता हुने स्थानीय तह निर्वाचनबाट जनकपुरको नेतृत्व लिन चाहनेहरुले विकासलाई मुख्य प्राथमिकतामा राखेका छन् ।

उनीहरुले जनकपुरलाई धार्मिक पर्यटकीय सहरकोरुपमा विकास गर्ने एजेन्डासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

जनकपुर उपमहानगरपालिकाका लागि नेपाली कांग्रेसका मेयरका प्रत्यासी मनोजकुमार साहले जनकपुरलाई ट्रेलवेज, रेल्वेज र रोडवेजसहित समग्र विकासको योजनासहित आफू चुनावी प्रतिस्पर्धामा होमिएको बताए ।

ऐतिहासिक सहर भएरपनि जनकपुर लामो समयदेखि विकासमा पछि पर्दै आएको छ । जनकपुरमा धेरै ताल भएकाले यसलाई सागर नै सागरको नगरको नामलेसमेत चिनिन्छ । तर, अधिकांश तालतलैया फोहोर र अव्यवस्थित छन् ।

त्यस्ता तालतलैयाको संरक्षण गर्ने, सडक विस्तार, पूर्वाधार निर्माणलाईसमेत उम्मेदवारले आ–आफ्ना एजेन्डा बनाएका छन् ।

क्षेत्रीय विमानस्थल निर्माण, व्यवस्थित रेल्वेसेवा विस्तार, बेरोजगार समस्या समाधान, मठ–मन्दिरलाई व्यवस्थित बनाउने एजेन्डा पनि उम्मेदवारले प्राथमिकतामा राखेका छन् ।

संघीय समाजवादी फोरम नेपालका मेयरका प्रत्यासी विष्णुदेव साहले जनकपुरलाई समावेसी, गतिशील, पर्यटकीय सहरकोरुपमा विकास गरेर जानकी मन्दिरको प्रचार गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजनालाई आफूले मुख्य एजेन्डा बनाएको बताए ।

जनकपुर मिथिला संस्कृतिको उद्गमस्थल हो । प्रसिद्ध जानकी मन्दिर भएकै कारण यहाँ वर्सेनि लाखौं पर्यटक आउने गरेका छन् ।

ऐतिहासिक नगरी जनकपुरको आगामी नेतृत्वका लागि १८ जना प्रतिस्पर्धामा छन् । २५ ओटा वडामा विभाजन गरिएको जनकपुर उपमहानगरपालिकामा ७५ हजारभन्दा बढी मतदाता छन् ।

भिडियो हेर्नुहोस्