बाराको सदरमुकाम कलैयामा नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले ढिलै भएपनि तराई–मधेसका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमाले पार्टीले मुलुकमा विखन्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेसी जनताको अधिकार प्रवद्र्धनका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे ।
‘पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन सक्दैन’–उनले भने–‘एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्दछ ।’
सभापति देउवाले कांग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई–मधेसको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै काँधमा आएको बताउँदै कांग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।
२ नम्बर प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी हुने दाबी पनि उनले गरे ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईको भूमिमा नै रामनारायण मिश्र, शेख इद्रिश, भागवत् यादव, थिरबम मल्ल, रामनारायण मिश्रजस्ता योद्धा जन्मेको र कांग्रेसका लागि निकै ठूलो योग्दान गरेको स्मरण गर्दै तराई–मधेसको विकास र समृद्धिका लागि उनीहरुले देखेको सपना कांग्रेसले पूरा गराएरै छाड्ने प्रतिबद्धता गरे ।
स्थानीय तहको निर्वाचनपछि संविधान कार्यन्वयनमा टेवा पुग्ने तथा प्रदेश र संसदको चुनावपछि मधेसमा विकासको क्रान्ति ल्याउने बताउँदै उनले अगामी प्रदेश र संसदको चुनावमा कांग्रेसलाई दुई तिहाइ मतबाट विजयी गराउन सबैलाई आग्रह गरे ।
जिल्ला पार्टी सभापति जयचन्द्र चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि, श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश रिजाल, सीताराम मेहता, सांसद लालबाबु सिंह, मधुशाही, रामअयोधयाप्रसाद यादवलगायतका नेताले कांग्रेसको पक्षमा मतदान गर्न सबै मतदातालाई आग्रह गरे । रासस





प्रतिक्रिया दिनुहोस्