Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


‘छाया सेन्टर’ विवाद के हो ? सरोकारवाला निकाय के भन्छन् ? (भिडियो)


0
Shares

दीपक श्रेष्ठ र राममान डंगोल (इमेज)

काठमाडौं, पुस ३० । काठमाडौं महानगरपालिकाको वडा नम्बर–२६, ठमेलमा निर्माणाधीन छायादेवी कम्प्लेक्स विवादमा परेको छ ।

सार्वजनिक कमलपोखरीलाई भूमाफियाले अतिक्रमण गरी भवन निर्माण गरेको स्थानीयले आरोप लगाएका छन् ।

करिब १३ रोपनी जग्गा भूमाफियाले अतिक्रमण गरी व्यापारिक भवन निर्माण गरेको भन्दै नेवाः राजनीतिक अभियानले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई गुहारेको छ ।

अभियानले आवश्यक छानबिन गरी निर्माणकार्य रोक्न माग पनि गरेको छ ।

स्रोतकाअनुसार अब चाँडै नै समितिले छानबिन प्रक्रिया अघि बढाउँदैछ ।

भवन निर्माणको विवाद सर्वोच्च अदालतमा विचाराधीन हुँदाहुँदै पनि ‘सार्वजनिक गुठीको पोखरी’ भनिएको स्थानमा कम्प्लेक्स निर्माणको नक्सा महानगपालिकाले पास गरेको देखियो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल आफूहरुले नियमबमोजिम नै काम गरेको दाबी गर्छन् ।

सार्वजनिक सम्पदा कमलपोखरीमाथि भएको अतिक्रमणको विषयमा वडा नम्बर–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले आफूहरुको ध्यानाकर्षण भएको बताए ।

पुरातत्व विभागले ऐतिहासिक सम्पदालाई कसैले हडपेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने बताएको छ ।

यस विषय आफूहरुलाई अहिलेसम्म आधिकारिकरुपमा कुनै जानकारी नआएको विभागका प्रवक्ता रामबहादुर कुँवर बताउँछन् ।

सरोकारवालाहरुले सरकारको नाममा दर्ता भएको पोखरी सिंहसार्थवाहु गरुड भगवान राजगुठीका गुठियार, तत्कालीन स्थानीय अधिकारी, मालपोत र गुठी संस्थानको मिलेमतोमा मोही कायम गरी बेचबिखन गरिएको आरोप लगाउँदै आएका छन् ।

२०३३ सालमा सहरी क्षेत्रको नापी हुँदा उक्त पोखरीकोे क्षेत्रफल १२ रोपनी  १३ आना २ पैसा २ दाम रहेको मालपोत कार्यालयको रेकर्डमा उल्लेख छ ।

२०३९ सालको भूमिसुधार मन्त्रालयको जग्गाधनीपुर्जामा जग्गाधनी ‘सिंह सार्थबाहु गुठी’ लेखिएको छ भने गुठी संस्थानमा रहेको २०४२ सालको फिल्ड बुकमा पनि पोखरी नै उल्लेख रहेको पाइन्छ ।

२०४४ मंसिर २३ गते सरकारले उक्त पोखरी सरकारको नाममा दर्ता गरी त्यसयता बनेको जग्गाधनी स्रेस्तामा पनि पोखरी नै उल्लेख भइ जग्गाधनीको नाम ‘श्री ५ को सरकार’ उल्लेख गरेको पाइन्छ ।

भिडियो हेर्नुहोस्